पश्चिम म्याग्दीको मंगला गाउँपालिका-२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा अक्षयकोष अभियानमा अमेरिकामा रहेका बावियाचौर निवासी राम मल्लले १ लाख आर्थिक सहयोग गर्नुभएको छ ।

क्याम्पसको आर्थिक संकट समाधान गदैं अन्तराष्ट्रियस्तरको गुणस्तर प्रमाणपत्र प्राप्ती, प्राविधिक धारका विषय सञ्चालनका लागि सहयोगदाता मल्लले दिदी क्षेत्रमुमारी मल्लमार्फत आर्थिक पूर्वाधार समितिका संयोजक यशुदा रोकालाई बुधबार एक कार्यक्रम गरी हस्तान्तरण गर्नुभएको हो ।

मंगला शिक्षा क्याम्पसले चन्दादाता सम्मान कार्यक्रममा संरक्षक तथा मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, पूर्व आर्थिक सङ्कलन समितिका संयोजक नरसिंह केसी, पूर्व सञ्चालक समितिका अध्यक्ष तथा आर्थिक सङ्कलन समिति संयोजक चन्दप्रसाद बुढाथोकी र निवर्तमान सञ्चालक समितिका अध्यक्ष श्रीराम पौड्याल, सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापा लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको क्याम्पस प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो ।

यसअगाडी क्याम्पसको अभियानमा समेत मल्लले १ लाख ६ हजार ७९२ प्रदान गर्नुभएको थियो। आधादशक अगाडी सञ्चालन गरिएको अभियानमार्फत क्याम्पसको भवन निर्माणका लागि जग्गा खरिद गर्न स्वदेश तथा विदेशबाट गरी झण्डै साढे ८७ लाख रुपैयाँ आर्थिक सङ्कलन गरिएको थियो । सङ्कलित रकमबाट बाबियाचौरको लाम्पाटामा साढे ३३ रोपनी जग्गा खरिद गरी क्याम्पसको भवन निर्माण गरिएको छ । हाल २ करोडको अक्षय कोष स्थापनार्थ अभियान सञ्चालन भइरहेको छ।