म्याग्दीको धवलागिरी गाउँपालिका-१, गूर्जामा थ्रिजी सेवा सुरु गरिएको छ । हाल ‘टु जी’ सेवा सञ्चालन गरिएको गूर्जामा नेपाल टेलिकमले बिहिबारदेखि विकट ठाउँमा जिएसएम सेवा विस्तार गरेको हो ।

समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गुर्जाबासीले सेवा विस्तारसँगै सहजै भ्वाइस सेवा र डाटा सेवा लिन सक्ने वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । ‘लामो प्रयासपछि सफलता मिलेको छ,‘इन्टरनेटको सहज उपलब्धसँगै स्थानीय उत्साहित छन्’ अध्यक्ष छन्त्यालले भने । उनले भविस्यमा थोर जी सेवाका लागि पनि पहल गरिने बताए । थ्रि जी सेवा विस्तारसँगै स्वदेश तथा विदेशमा रहेका गूर्जाबासीलाई समेत घरपरिवारसँग इन्टरनेटको माध्यमबाट कुराकानी गर्न सहज भएको छ ।

जिल्लामा लुकेको बस्तीको परिचयले समेत चिनिने गूर्जामा २ सय ३० घरधुरीमा रहेको छ । छन्त्याल जातीको बाहुल्यता रहेको गाउँमा दलित समुदायको समेत बसोबास रहेको छ । म्याग्दीमा नेपाल टेलिकमले केन्द्रिय विद्युत पुगेको ठाउँमा थ्रि जी सेवा सञ्चालन गरेको छ भने सोलार र लघुजलविद्युत भएका दुर्गम बस्तीमा टु जी सेवा उपलब्ध गराउँदै आएको छ ।