हिमाल सफाइका क्रममा धौलागिरि हिमालमा नेपाली सेनाले १५ वर्षअघि हराएको भनिएको एयर डाइनेस्टीको हेलिकोप्टर नहराई दुर्घटनामा परेको पुष्टि भएको छ । मौसम खराबीका कारण आकस्मिक अवतरणका क्रममा ३ सेप्टेम्बर २००६ मा बिरामी लिन धौलागिरि आधार शिविरमा पुग्दा दुर्घटनामा परेको पुष्टि भएको हो ।

एयर डाइनेस्टी हेली सर्भिसका प्रबन्ध निर्देशक पवित्र कुमार कार्कीका अनुसार त्यस क्रममा हेलिकोप्टर उपयुक्त ठाउँमा अवतरण हुन सकेन र दुर्घटनामा परेको थियो । हेलिकोप्टर अवतरणका क्रममा सीमाभन्दा बाहिर गएर दुर्घटनामा परे पनि पाइलट सुरक्षित रहेका थिए । हेलिकोप्टरमा पाइलट एक्लै थिए ।

प्रबन्ध निर्देशक कार्कीका अनुसार उक्त हेलिकोप्टर दुर्घटनापछि नहराएको र दुर्घटनामा परिसकेपछि यसलाई मर्मत गर्न सकिएको थिएन । हेलिकोप्टरको मर्मत सम्भव नभएपछि कम्पनीले बिमा दाबी गरेको थियो । साथै, कम्पनीको दाबीपछि बिमा कम्पनीले क्षतिपूर्तिसमेत दिएको थियो । तर, बिमा कम्पनीले क्षतिग्रस्त हेलिकोप्टरका सामानहरु त्यहाँबाट ल्याउन सकेको थिएन ।

नेपाली सेनाले हेलिकोप्टरसँगै धौलागिरिमा भेट्टाएको दुई मानव अवशेषको सम्बन्ध हेलिकोप्टरसँग नभएको पुष्टि भएको छ । सेनाका अनुसार मानव अवशेष भेटिएको स्थानबाट १२ सय मिटरको फरकमा हेलिकोप्टरको अवशेष भेटिएको हो ।ती शवहरु आरोहणका दौरान दुर्घटनामा परेका आरोहीको हुन सक्ने प्रबन्ध निर्देशक कार्कीले बताएका छन् । तर, सेनाले भने मृतकको पहिचान नभएको जनाएको छ ।