छिमेकी मुलुक भारतमा जस्तै नेपालमा पनि नयाँ भेरिएन्टको कोभिड–१९ संक्रमण बढी घातक देखिएको छ । कोभिडको नयाँ ‘स्ट्रेन’ अत्यधिक संक्रामक हुने भएकाले युवा र बालबालिकालाई पनि गम्भीर असर गरेको छ ।

ईडीसीडीका पूर्वनिर्देशक डा. जीडी ठाकुर नेपालमा तीव्र गतिले जटिल लक्षणसहित फैलिरहेको कोभिडका कारण यूके र डबल म्युटेन्ट भेरिएन्ट रहेको दाबी गर्छन् । भाइरसको नयाँ स्ट्रेनले शरीरमा आक्रमण गर्छ । रुघाखोकी पनि देखिन्छ । ज्वरो सात दिनभन्दा बढी रहने गरेको चिकित्सक बताउँछन् । सामान्य र कडा खोकी देखिए लामो समय रहन सक्छ ।

अत्यधिक सुक्खा खोकीले कसैकसैको खकारमा रगत जाने समस्या देखिने गरेको छ । टाउको र शरीरका मांसपेशी दुख्ने, छालामा एलर्जी आउने, शिथिलता, स्वाद वा गन्ध हराउने लक्षणसमेत देखिएको छ । कतिपयमा वाकवाकी र पखाला लाग्ने गर्छ भने कतिमा मुख सुक्खा हुने, घाँटी खसखसाउने, दुख्ने लक्षण देखिने चिकित्सक बताउँछन् ।

विश्वमा करिब आधाभन्दा बढी कोभिड संक्रमितमा ‘सोर थ्रोट’ देखिएको छ । ‘लक्षण देखिएको ६ देखि ७ दिनमा निमोनिया भएर सास फेर्न गाह्रो भई अस्पताल भर्ना हुने धेरै छन्,’ डा.अनुप बाँस्तोलाले भने, ‘दुई दिन मन्द ज्वरो र खोकी देखिए पनि छैटौं दिनमा निमोनिया भइसकेको हुन्छ । लक्षण देखिएको ४–५ दिनभित्रै चिकित्सकको परामर्श लिन जानु अत्यावश्यक छ ।’

चिकित्सकहरूका अनुसार लक्षण देखिएको पहिलो ६–७ दिन अत्यन्त जोखिमपूर्ण समय हो । संक्रमणको शंका लागे पीसीआर परीक्षण गराइहाल्नुपर्छ । संक्रमित वा शंकास्पद व्यक्तिको शरीरमा अक्सिजनको मात्रा अक्सिमिटरले नियमित नाप्नुपर्छ । अक्सिजनको मात्रा ९४ भन्दा कम भए तुरुन्त स्वास्थ्य परामर्श लिनुपर्छ ।

स्वास्थ्य निकायमा लानुअघि बिरामीलाई घोप्टो सुताए फाइदाजनक हुन्छ । बिरामीको श्वासप्रश्वासको दर प्रतिमिनेट २४ पटकभन्दा बढी भयो भने चिकित्सकसँग परीक्षण गराउनुपर्ने डा. बाँस्तोलाले बताए ।

मध्यमस्तरको संक्रमण देखिएका बिरामीमा श्वासप्रश्वासको गति प्रतिमिनेट २४ पटकभन्दा बढी देखिन सक्छ भने शरीरमा अक्सिजनको मात्रा ९० देखि ९३ प्रतिशतभन्दा कम देखिन्छ । गम्भीर अवस्थामा श्वासप्रश्वासको दर प्रतिमिनेट ३० भन्दा बढी र अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा कम हुन सक्छ । Source: ekantipur.com