अमिक शेरचनले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताएका छन् । अधिकारविहीन खुला जेलबाट मुक्त भएको उनले बताएका छन् । आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘पदमुक्त भएकोमा अत्यन्त खुसी छ । मुरी–मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई ।’

उनले भने, ‘पहिला ओलीजी र पुनः प्रचण्डजी मार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो यो ।  अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनुभएकोमा पुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई ।’

सरकारले माओवादी केन्द्रका नेता शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट सोमबार हटाएको थियो । सो पदमा एमाले नेता सीता पौडेललाई नियुक्त गरिएको छ । आफू पदमुक्त भएको जानकारी मिडियामार्फत पाएको बताउँदै उनले पदमा रहँदा कुनै असंवैधानिक काम नगरेको जिकिर गरे । प्रदेश प्रमुख भएर १८ महिना २ दिनसम्म काम गरेको बताए ।

शेरचनले जारी गरेको विज्ञप्ति:

आदरणीय पत्रकार साथीहरु,

प्रदेश प्रमुखको पद ग्रहण गरेको आज १८ महिना २ दिन पुगेछ। यसबीचमा मलाई साथी सम्झेर माया गर्ने सबै प्रती आभार प्रकट गर्दछु।

कार्यालयका कर्मचारी सुरक्षामा कार्यरत सबै जवान र सचिवालयका सबै साथीहरु बाट सहयोग र सम्मान पायौँ। यहाँहरु प्रति आभार व्यक्त गर्दछौँ।

पदमुक्त भएकोमा अत्यन्तै खुशी छु। मुरीमुरी धन्यबाद छ राष्ट्रपतीज्यूलाई पहिला ओलीजी र पुन: प्रचण्डजी मार्फत् ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो।

पछि पार्टीको निर्णय सुनाएपछि अनुशासीत कार्यकर्ताको नाताले बाध्य भै स्वीकारेको पद हो यो। अधिकारविहिन खुला जेलबाट मुक्त गरिदिनु भएकोमा पनि धन्यबाद।

म पदको लागी राजनीति गरेको व्यक्ति होइन। पूर्वराष्ट्रपती डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागी मलाई प्रस्ताव आयो। मैले अस्वीकार गरे।

त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनी ठाडै इनकार गरेको व्यक्ति हुँ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क.यज्ञदेव आले, क.निर्मल आले र क. मोहन विक्रम सिहंजस्ता र्शीसस्थ नेताहरुको निकटमा रहेर सक्रीय राजनीतिक संर्घषमा आफ्नो जिवन समर्पीत गरे।

पदका लागी कुनै प्रकारको बार्गेनिङ गरिनँ। सन्त नेता क. मनमोहन अधीकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनी मैले स्वीकार गरिनँ। पद र सत्ताको लागी असंवैधानिक पद्धती र अपच्य दृष्यहरु थोर्पाने पद जोगाउने व्यक्ती म होइन।

न त पदकै लागी वैचारिक आस्था बम्बैको कोठीमा विक्री गर्ने व्यक्ति हुँ। म मार्क्सवाद ,लेनीनबाद र माओ बिचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरिक हुँ।

श्रमजीवि सर्वहराजीविको इमान्दार साथी हुँ र वर्ग सघर्षमा जीवन समर्पित गर्ने योद्धा कार्यकर्ता पनि हुँ। राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार हस्तक्षेप र अतिकरण गर्ने भारतीय विस्तारवाद र साम्राज्य विरुद्वको संघर्ष पञ्चायत कालदेखी गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धी सम्झौता विरुद्धको संघर्षहरुमा मैले कुनै प्रकारका सडयन्त्र र गद्धारी गरेको छैन।

न त अर्बौं कमिशन र भ्रष्टचारमा डुवेको छु। बरु म मन्त्री हुँदा घुष खुवाउन खोज्ने डिजीलाई पदबाट वर्खास्त गरेको जिउँदो उदाहरण छ म सँग।

भ्रष्टचार र कमिशनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टचार शुन्यमा झार्छु भन्ने ध्वोंगी व्यक्ति पनि होइन म बरु बैदेशिक हस्तक्षेप सन्धी सम्झौता र भ्रष्टचार विरुद्धका संघर्षहरुमा चार वर्षजति जेलयाताना र हजारौंपटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ।

संघर्षको दौरानमा तत्कालिन सरकारको तानासाही दमनबाट मेरो खुट्टा हात करड. र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटक-पटक कैयौं दिनसम्म वेहोस हुँदा पनि वैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ, स्मरण रहोस कमरेड मदन भण्डारीको सुनियोजित हत्याको विरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्दन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ।

आज देश कोभिडबाट आतंकीत र अक्रान्त बनेको छ। दैनिक मृत्युदर बढीरहेको छ, यस्तो अवस्थामा सम्पूर्ण राजनीतिक दलहरुको साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जिउ धनको रक्षा गर्नुपर्ने अहम बेलामा पार्टी पार्टी बीचको फुट, पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुवाइएको छ।

एकपटक सबैले निधार खुम्चाएर सोचौं, दैनिक सयौंको खुन बगिरहेको अवस्थाबाट घोर निरंकुश प्रतिगमनका विरुद्धका संघर्षमा तात्कालिन आन्दोलनकारी पार्टीहरुको बीचको सहकार्य र समझदारीबाटै सामन्तवादी सत्ताको अन्त्य र गणतन्त्र स्थापना गर्न सफल हुन सकेको हो।

यस पदमा आएपछी मैले संवैधानीक मर्यादालाई पुर्ण पालना गरेको थिए। कुनै पनि पार्टी विशेषको प्रभाव र छाँयामा काम गरिनँ। सरकारले जे प्रस्ताव ल्यायो त्यसलाई संवैधानीक नियम अनुसार निर्णय गर्ने गरेर माननीय सांसदहरुबाट जे जे प्रस्ताव आए त्यसलाई पनि संवैधानीक नियम बमोजीम नै निर्णयतार्थ सम्पादन गरेको थिए।

यसबाट कसैको लागि अप्रिय भएको भए त्यो संविधान हेरेर चित्त बुझाउन अनुरोध गर्दछु।

अन्तमा, लोकतन्त्र संघीयता धरापमा नपरोस् यसका लागि पक्षधरताबीचको सहकार्य र एकतामा अगाडि बढौँ मेरो हार्दिक अपील छ।

– अमिक शेरचन