बेनी नगरपालिका-७, बिरेन्द्रचोककी सिर्जना भट्टचनले एक साता अगाडी २२ सय तिरेर खरिद गरेको एक प्याक खाना पकाउने तेललाई बुधबार २४ सय ५० तिरिन् । कोरोनाको जोखिमसँगै लकडाउनका कारण तेल आयात हुन नसकेको बताएपछि भट्टचनले ब्यापारीले तोकेकै मुल्यमा लिएर आईन् ।

एउटै ब्राण्डको तेलमा साढे दुई सय मंहगो तिरेकी भट्टचनले कोरोनाको बाहनामा भटमासको तेल, सूर्यमुखि तेल लगायत विभिन्न ब्राण्डको खाने तेलको मुल्य अस्वभाविक रुपले बढेको बताईन् । ‘कोरोनाको जोखिमले उपभोक्ताले मार खेप्नुपरेको छ,‘भान्सामा चाहिने सबै उपभोग्य बस्तुको मुल्य केहीदिन यता ह्वात्तै बढेको छ’उनले भनिन् ।

प्रतिलिटर तेलको मुल्यमा करिब ५० रुपैयाँसम्म बढेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयले वैशाख २२ गते रातिदेखि लागु हुने गरी १० दिने निषेधाज्ञा जारी गरेपछि बजारमा खाद्यान्न साम्रागीको मुल्य अस्वभाविक रुपमा बढेपनि सम्बन्धित निकायले चासो देखाएका छैनन् ।

निषेधाज्ञा अवधिभरलाई आवश्यक उपभोग्य बस्तु खरिद गर्न लागेका सर्वसाधारणलाई ब्यापारीले आफुँखुसी मनपरी मुल्य लिने गरेका छन् ।बेनीबजारमा प्रतिकेजी चिनको मुल्य १ सयसम्म लिने गरेको पाइएको छ भने चामल, दाल लगायतका खाद्यान्न बस्तुको मुल्यमा समेत मनोमानी मुल्य बढाउने गरिएको छ ।

उपभोग्य बस्तुको मुल्यमा वृद्धि भए पनि आम उपभोक्ताहरुले बढी मूल्य तिरेर भएपनि खरिद गर्न बाध्य भएको विषयमा गुनासो आएको म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताए । ‘तेलमा मुल्य बढेको अवस्था देखिन्छ,‘अन्य उपभोग्य बस्तुमा धेरै गुनासो आएको छैन’ श्रेष्ठले भने ।

तेलको मुल्य स्थानीय ब्यापारीले भन्दा पनि कम्पनीबाटै बढेको अवस्थाका बारेमा जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइएको उनले बताए । यता जिल्ला प्रशासनबाट हुने बजार अनुगमन औपचारिकतामा मात्रै सिमित हुने गरेको पाइन्छ ।

सहायक प्रजिअको नेतृत्वमा हुने बजार अनुगमनबाट समेत महंगी नियन्त्रण हुने गरेको छैन् । केही दिन अगाडी समेत बजार अनुगमन गरिएको थियो । बजार क्षेत्रमा दैनिकी उपभोग्य बस्तुको मुल्य कसरी बढी रहेछ भन्ने बिषयमा सम्बन्धित निकायले चासो देखाउनुपर्नेमा उपभोक्ताले माग गरेका छन् ।

Leave a Reply