म्याग्दीको सदरमुकाम बेनीमा चिनीको मूल्यमा मनपरी हुन थालेको छ । कोरोना भाइरस संक्रमणको जोखिमसँगै बेनीबजार तथा आसपासमा क्षेत्रमा केही ब्यापारीले चिनीको प्रतिकेजी १ सय रुपैयाँसम्म लिने गरेको पाइएको हो ।

चिनी आयात गरिने जिल्लामा धमाधम लकडाउन र निषेधाज्ञा जारी हुन थालेपछि अभाव हुन थालेको भन्दै प्रति केजीमा १५ रुपैयाँसम्म बढी लिन थालेको भन्दै बजार अनुगमन गर्न समेत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

बेनी नगरपालिका भित्र बुधबार राती १२ बजेदेखि निषेधाज्ञा जारी भएसँगै उपभोग्य बस्तुमा अचाक्ली मुल्ने लिन थालिएको भन्दै विरोध समेत हुने गरेको छ।

‘चिनीको अभाव सुरु भएको छ, अब पाइदैन् भनेपछि १ सय रुपैया तिरे’एक उपभोक्ताले बेनीअनलाइनलाई भने । उनले चिनीको मुल्यमा एकसाता अगाडी प्रतिकेजी ९० रुपैयाँसम्म तिरेपनि एक हप्तामै प्रतिकेजी १० रुपैयाँ बढेको उनले बताए ।

यता म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले तोकिएको भन्दा बढी मुल्य लिएर बिक्री गरेको पाइएमा जानकारी दिन अनुरोध गरेका छन्।

‘सबै ब्यवसायीले मनपरी मुल्य लिएका छैनन्,‘लिएको जानकारी हामीलाई दिनुहोस्’ उनले भने । उनले तेलको मुल्य उद्योगबाटै बढेर आएपनि चिनीको मुल्यमा बढेको गुनासोप्रति ध्यानर्कषण भएको बताए ।

यता प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले मनपरी मुल्य लिनेहरुलाई कारवाहीको दायरामा ल्याउने बताएका छन् । ‘तोकिएको बजार मुल्यभन्दा एक रुपैयाँ बढी लिन पाइदैन्,‘छड्के अनुगमनमा निस्कन्छौ’ प्रजिअ अधिकारीले भने ।

बेनीबजारमा कोरोनाका बाहनामा मनपरी मुल्य लिन थालेपछि गुनासो आएको पसलमा ग्राहक नै बनेर जाने तयारी समेत भइरहेको स्रोतले जनाएको छ । कालोबजारी रोक्न ब्यवसायीलाई समेत प्रशासनले अपिल गरेको छ ।

यता ग्रामिण क्षेत्रमा समेत दैनिकी उपभोग्य बस्तुको मुल्य आकासिएको छ । ढुवानी खर्च, बजारमै मुल्य आकासिएको जस्तो कारण देखाउँदै ग्रामिण क्षेत्रमा समेत खाद्यान्न सहित उपभोग्य बस्तुमा जथाभावी मुल्य लिने गरेको उपभोक्ताले गुनासो गर्ने गरेका छन् ।