दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमितलाई अक्सिजन आवश्यकता परिरहेको छ। पहिलो लहरको समयमा अक्सिजनको आवश्यकता परेको थिएन। अहिलेका अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता परिरहेको छ।

अक्सिजनको मात्रा घट्दै जाँदा उनीहरूमा एकाएक बेहोस हुने, स्वाश–प्रश्वासमा समस्या हुने देखिइरहेको छ। दोस्रो भेरियन्टको कोरोना भाइरसले बिरामीमा अक्सिजनको कमी देखाइरहेको छ। यस्तो अवस्थामा होम आइसोलेनसमा बसेका बिरामीले कसरी थाहा पाउने त आफूमा अक्सिजनको मात्रा कति छ भनेर?

टेकु अस्पतालका क्लिनिकल एकाइ युनिट प्रमुख डा. शेरबहादुर पुनले अहिलेको नयाँ भेरियन्टको संक्रमणमा परेका अधिकांश बिरामीलाई अक्सिजनको कमी भइरहेको बताए।

त्यस्तो अवस्थामा घरमै बसेका बिरामीले अक्सिजनको मात्रा थाहा पाउनका लागि अक्सिमिटरको प्रयोग गर्न सक्नेछन् । अक्सिमिटरको सहायतामा शरीरमा अक्सिजनको मात्रा थाहा पाउन सकिन्छ।

अक्सिमिटरले लक्षण नदेखिएका बिरामीको रगतमा रहेको अक्सिजनको मात्रा परीक्षण गर्ने काम गर्ने डा. पुनको भनाइ छ।

के हो अक्सिमिटर? 

एक स्वस्थ व्यक्तिमा अक्सिजनको तह ९५ देखि लिएर १०० को बीचमा हुने गर्छ। ९५ प्रतिशतभन्दा कम देखियो भने त्यो व्यक्तिमा कुनै समस्या भएको देखाउने डा. पुनको भनाइ छ। अक्सिजन सतह ९२ वा ९० सम्म झर्यो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्ने डा. पुनले बताए। होम आइसोलेन तथा क्वारेन्टिनमा बसेकाहरूले अक्सिमिटरको सहायताले अक्सिजनको मात्रा जाँच गर्नु उपयुक्त हुने उनले बताए।

कुनै पनि व्यक्तिको अक्सिजन लेभल ९६ प्रतिशत देखाएको छ भने रगतमा अक्सिजनको मात्रा ४ प्रतिशतको कमी भएको देखाउने उनको भनाइ छ। रगतमा अक्सिजनको मात्रा पनि बराबर हुनुपर्ने उनले बताए।

अक्सिमिटरको सहायताले हृदय र फोक्सोको कार्यलाई कुनै असर परे–नपरेको र रगतमा हुने अक्सिजनको अभाव कुन अवस्थामा छ ? भन्ने कुरा जानकारी पाउन सकिने डा. पुनको भनाइ छ।

कसरी गर्छ काम? 

यसलाई औँलामा राखेर रगतमा रहेको अक्सिजनको मात्रा परीक्षण गर्न सकिन्छ। यसले फोक्सोमा निमोनियाको मात्रा बढे–नबढेको देखाउने र थप जोखिम हुनुपूर्व नै सचेत गराउँछ।

औँला बीचमा राख्दा यसभित्र एक किसिमको बत्ती बल्छ। यसले रक्तकोषको रङ र त्यसको हलचललाई देखाउँछ। त्यही आधारमा अक्सिमिटरले अक्सिजनको अवस्था देखाउने डा. पुनको भनाइ छ।

अक्सिमिटरको माग बढ्यो

अहिले यसको माग ह्वात्तै बढेको छ। विशेषगरी होम आइसोलेनसमा बसेकाहरू अक्सिमिटर किन्न आउने गरेको औषधि पसल सञ्चालक बताउँछन्। माग बढेसँगै कालोबजारीसमेत बढेको छ। फार्मेसी सञ्चालकहरूले फरक–फरक मूल्यमा अक्सिमिटर बेच्न थालेका छन्।

त्यस्तै, अनलाइन बजारले ६ सयदेखि पाँच हजारसम्मका अक्सिमिटिर बिक्रीमा राखेका छन्।

बजारमा ६ सयदेखि पाँच हजारसम्मको अक्सिमिटर

अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरी भेगमा निषेधाज्ञा जारी गरिएको छ । अतः अक्सिमिटर अनलाइन सपिङबाट खरिद गर्न सकिन्छ । जुन कम्पनी अनुसार ६ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको मूल्य तोकिएको छ ।

अनलाइन सपिङ कम्पनी सस्तो डिलले बजारमा ६०० रूपैयाँमा नै अक्सिमिटर बेच्ने गरेको छ । कम्पनीले तयार पारेको मूल्यसूची अनुसार डिजिटल फिंगर पल्स अक्सिमिटरलाई ५९९ रुपैयाँ तोकेको छ ।

त्यस्तै, अर्को अनलाइन सपिङ कम्पनी दराजले रगतमा अक्सिजनको मात्रा परीक्षण गर्ने अक्सिमिटरको १४ सयदेखि ५ हजार मूल्यसम्मको अक्सिमिटर बजारमा ल्याएको छ । दराजले एनयूडीजीई एलके–८८ पोर्टेबल फिंगरटिप पल्स अक्सिमिटरको हालको बजार मूल्य १ हजार ४९९ तोकेको छ ।

त्यस्तै, स्वीस डिजाइन रोसम्याक्स अक्सिमिटरलाई ४ हजार ९९९ मूल्य तोकिएको छ । त्योभन्दा सस्तो रोसम्याक्स फिंगरटिप पल्स अक्सिमिटर एसबी १०० को बजार मूल्य ४ हजार ८५० रूपैयाँ तोकिएको छ । चिकित्सकहरु जुनसुकै मूल्यको किनेपनि सकेसम्म नियमित आफ्नो शरीरमा अक्सिजनको मात्रा परीक्षण गरिरहनुपर्ने बताउँछन् ।

जानकारहरुका अनुसार घरेलु प्रयोगको लागि खरिद गरिने अक्सिमिटर र अस्पतालमा चिकित्सकहरुले प्रयोग गर्ने अक्सिमिटरको गुणस्तर भिन्न हुन्छ । तर कोरोनाका कारण शरीरमा अक्सिजनको मात्रा परीक्षण गर्नको लागि भने धेरै गुणस्तरको अक्सिमिटर आवश्यक हुँदैन । घरमा आफैंले प्रयोग गर्ने अक्सिमिटरले केवल पल्स अक्सिजन र हृदयको गति मापन गर्छ । जबकि अस्पतालमा प्रयोग गरिने भिन्न खालको यो प्रविधिमा भने यसको रिपोर्ट प्रिन्ट हुने खालको प्रविधि हन्छ । यद्यपि केही पल्स अक्सिमिटर सहायक उपकरणहरू अहिले स्मार्टफोनमा पनि जोड्ने गरिएको पाइन्छ ।

कति हुन्छ स्वस्थ व्यक्तिमा अक्सिजनको लेभल ?

जानकारहरुका अनुसार एक स्वस्थ व्यक्तिमा अक्सिजनको साधारण तह ९५ देखि लिएर १०० को बीचमा हुने गर्छ । ९५ प्रतिशतभन्दा कम अक्सिजनले संकेत गर्छ कि व्यक्तिमा कुनै न कुनै समस्या छ । यदि अक्सिजन लेभल ९२ वा ९० सम्म झर्‍यो भने तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । agency