नेपालमा दोस्रो चरणको कोरोना महामारी तीब्र रुपमा फैलिरहेको अवस्थामा कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या पनि दिनानुदिन बढिरहेका छन् । कोरोनाविरुद्धको खोप केन्द्रहरुमा खोप लागउनेहरुको भीड नै हुने गर्दछ ।

यसैबीच नेपाल सरकारले ४ डलरमा ल्याएको कोरोनाविरुद्धको खोप चौगुणा बढी मूल्यमा सर्वसाधारणलाई बेच्न पाउने गरी निजी कम्पनीलाई जिम्मा दिएको छ । कोरोनाविरुद्धको खोप ल्याउन अवरोध गर्ने कम्पनी हुकमलाईलाई नै सरकारले चौगुणा बढी मूल्यमा खोप बेच्ने अनुमति दिएको हो ।

भारतको सेरम इन्स्टिच्युट अफ लाइफ साइन्सबाट नेपाल सरकारले प्रतिडोज चार डलर (साढे चार सय रुपैयाँ)मा ल्याएको थियो । तर, स्वास्थ्य सेवा विभागले सोही खोपको प्रतिडोज १७ सय रुपैयाँ बढी शुल्क उठाउन हुकुमलाई अनुमति दिएको हो ।

योसँँगै सेरमको दुई डोज खोपका लागि नेपाली नागरिकले निजी कम्पनीलाई ३४ सय रुपैयाँ बढी शुल्क तिर्नुपर्नेछ । सेरमको कोभिसिल्ड खोपसँगै भारत बायोटेकको कोभ्याक्सिनलाई पनि व्यावसायिक प्रयोजनका लागि औषधि स्वास्थ्य विभागले अनुमति दिएको छ ।

भारत बायोटेकको कोभ्याक्सिन खोप ल्याउनका लागि इब्राल्ड फर्मास्युटिकल्सलाई विभागले अनुमति दिएको छ । कोभ्याक्सिन खोपको मूल्य एक डोजकै २६ सय रुपैयाँ रहेको छ । यस खोपलाई दुई डोज लगाउँदा ५२ सय रुपैयाँ पर्नेछ ।

चीनको सस्तो खोप भेरोसेलले किन अनुमति पाएन ?

सेरमको कोभिसिल्ड खोप र भारत बायोटेकको कोभ्याक्सिन भन्दा पनि सस्तो मूल्य प्रस्ताव गरिएको चीनको भेरोसेल खोपले अझैंपनि अनुमति पाएको छैन ।

सिनोभ्याक लाइभ साइन्सको भेरोसेल खोप नेपालमा प्रयोग भइसकेको छ । भेरोसेल खोपको प्रतिडोज मूल्य १५.२ डलर (१७ सय ९३ रुपैयाँ) प्रस्ताव गरिएको छ । भेरोसेलको दुई डोजको मूल्य ३५ सय ८६ रुपैयाँ हुनआउँछ । तर, सरकारले भेरोसेलको प्रस्ताव स्थगित गरेर ५२ सय रुपैयाँको कोभ्याक्सिनलाई अनुमति दिएको छ ।

त्यसोत, ८ लाख डोज चिनियाँ भ्याक्सिन अनुदानमा पाउँदा पनि रोक्न खोजिएको थियो । तर, मिडियामा पटक–पटक समाचार आउनुका साथै चीनले धेरै ताकेता गरेपछि मात्र सरकारले उक्त खोप लिन जहाज पठाएको थियो ।

भारतीय खोपका लागि बजार सहज बनाउन चिनियाँ खोप रोक्न खोजिएको विभागले जनाएको छ । साथै, यस विषयमा नीतिगत हस्तक्षेप भएको कारण विभागका कर्मचारीले पनि केही गर्न नसक्ने बताइएको छ ।

नेपालमा दुई कम्पनीको बाहेक अन्यको निवेदन आइनसकेको कारण पनि प्रक्रिया अगाडि नबढेको विभागले जनाएको छ । विभागले यसो भनिरहँदा चीनको भेरोसेल खोपको प्रस्ताव चैत १२ मा नै विभागमा दर्ता भएको थियो । news24nepal.tv