बेलैमा उपचार पाएका कोरोना भाइरस संक्रमितमध्ये अधिकांश निको भइरहेका छन् । कोरोना भाइरसले मृत्यु भएका अधिकांश व्यक्ति लक्षण देखिएपछि पनि ढिलो गरी स्वास्थ्यकर्मीको सम्पर्कमा पुगेकाहरू रहेको पाइएको छ ।

‘समयमै संक्रमण पहिचान भएर स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अधिकांश व्यक्ति पूर्ण रूपमा निको भएका छन्,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘बेलैमा उपचार पाएका वृद्धवृद्धा पनि कोरोना जितेर घर फर्किंदै छन् ।’

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितको तुलनामा निको भएकाको संख्या ४०.०३ प्रतिशत छ । पछिल्लो २४ घण्टामा मुलुकमा ८ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा निको हुनेको संख्या ३ हजार ३ सय ७० छ ।

संक्रमणले हालसम्म ३ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ । यो भनेको जम्मा संक्रमितको ०.९४ प्रतिशत हो । यसअघि मृत्युदर एक प्रतिशत थियो । पछिल्ला दिनमा संक्रमितको संख्या बढेकाले आवश्यक उपचार नपाएर वा ढिला गरी अस्पताल पुगेर ज्यान गुमाउनेका संख्या बढेको चिकित्सकको भनाइ छ ।

पोहर जस्तै यसपालि पनि संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा सामान्य लक्षण छ । ५ प्रतिशत गम्भीर खालकालाई आईसीयूमा भर्ना गरेर उपचार गर्नुपर्ने देखिएको छ ।’

मध्यमस्तरको निमोनिया भएकाहरूलाई निको हुन ८ देखि १० दिन लाग्ने गरेको छ । गम्भीर निमोनिया भएकामध्ये करिब ६० प्रतिशतलाई निको हुन १० देखि १२ दिन र बाँकी ४० प्रतिशतलाई ३ देखि ५ सातासम्म लाग्न सक्छ । टाउको दुखे, ज्वरो आए उमेरअनुसार मात्रा निर्धारण गराएर पारासिटामोल खान सकिन्छ ।

अक्सिजनको अवस्था राम्रो राख्न पेटको बलले सुत्नु फाइदाजनक हुन्छ ।संक्रमित भई घरमै स्वास्थ्य लाभ गरिरहेका धेरै जनाले अनावश्यक रूपमा एन्टिबायोटिक, विभिन्न प्रकारका भिटामिन, स्टेराइड औषधि सेवन गरेको पाइएको छ । तर यी कुनैको आवश्यकता नै छैन। ekantipur.com