तिलु शर्मा पौडेल, दोहा कतार l कोरोनाको प्रकोप विश्वमा दैनिक बढी रहेको छ l दोस्रो चरणको नयाँ भेरियन्ट कोरोनाका कारण विश्वका अधिकाँश देशमा लकडाउन तथा प्रतिबन्ध लगाइएको छ l विश्वभर रहेका नेपालीहरू पनि कोरोनाबाट प्रत्यक्ष मारमा परेका छन् l लाखौँले रोजगारी गुमाएका छन् भने हजारौँ सङ्क्रमित छन्  भने सयौँको मृत्यु भएको छ l

रोजगारीको मुख्य गन्तव्य रहेको खाडी राष्ट्र कतारमा कोरोनाका कारण २७ नेपालीको निधन भएको छ l नेपाली राजदूतावास कतारका दित्तीय सचिव भुवन भट्टका अनुसार पहिलो चरणको सङ्क्रमण समयमा १८ नेपालीको मृत्यु भएको थियाे भने नयाँ भेरियन्ट कोरोनाका कारण थप ९ नेपालीको निधन भएको हाे l भट्टका अनुसार मृत्यु हुनेहरू सबै पुरुष रहेका छन् l

मृतकको शव नेपाल पठाउन नमिल्ने भए पछि परिवारसँगको अनुमति तथा सहमतिमा २२ जनाको कतारमै अन्त्येष्टि गरी सकिएको र थप ५ जनाको कागजी तथा कानुनी प्रक्रिया पूरा हुने प्रक्रिया रहेको जानकारी भट्टले दिनुभयो l

कोरोनाबाट कतारमा हाल सम्म ५१२ जनाको मृत्यु भइसकेको छ भने ८ हजार भन्दा बढी संक्रमित रहेका छन् l एक तथ्याङ्क अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

Leave a Reply