म्याग्दी प्रवासी नेपाली संघ मोना यूकेले आयोजना गरेको प्रथम मोना गल्फको उपाधी म्याग्दीको मालिका गाउँपालिका-७ बिमका सर्बजित जुग्जालीले हात पारेका छन् । नेपाली नयाँ बर्षको अवसरमा गत शनिबार सम्पन्न भएको प्रतियोगितामा कुल स्कोरमा जुग्जालीले अन्य प्रतियोगिलाई उछिनेका थिए ।

अन्नपूर्ण गाउँपालिका-७हिस्तानका कुमार पुन उपविजेता र मालिका गापा–२ रूमका भक्त शेरचनले तेस्रो स्थान हात पारेको मोना यूकेका महासचिव लालबहादुर पुनले जनाए । प्रतियोगितामा सबैभन्दा लामो ड्राइभमा बेनी नगरपालिका–३ भकिम्लीका हिरा पुनले जित हात पारेका थिए ।

यसैगरी, पिनको नजिकै बल पु¥याएर प्रतियोगितामा १३ प्रतिस्पर्धीलाई हराउदै बेगका महेन्द्र फगामीले विजेता बन्न सफल भएका थिए ।प्रतियोगीताका विजेतालाई महेन्द्र फगामी, मोना यूकेका उपाध्यक्ष होम रोका, महासचिव पुनले प्रायोजन गरेको कोषाध्यक्ष पदम सुन्दर गर्बुजाले जानकारी दिए ।

खेलमा सहभागी खेलाडीलाई बेलायती सेनाबाट सन् २००५ सालमा विश्व क्युंईनस मेडल बिजयी कर्पोरल हिरा पुन तथा आर्मी १०० का क्याप्टेन भक्त शेरचन, उपाध्यक्ष होम रोका, ग्रेट ब्रिटेनका गल्फ खेलाडी क्याप्टेन महेन्द्र फगामीले प्रतियोगितामा सहयोग गर्नेलाई प्रशंसा पत्र सहित धन्यवाद दिएका थिए । प्रतियोगिताको मोना यूकेका उपाध्यक्ष रोकाले उद्घाटन गरेका थिए ।

लामो समयसम्म कोरोनाका कारण घरमै बसेका म्याग्देलीहरु प्रतियोगितको अवलोकनका लागि पुगेका थिए । बेलायतमा रहेका म्याग्देलीको साझा संस्था मोनामार्फत खेलकुद, सांस्कृतिक सहित विभिन्न कार्यक्रमहरु सञ्चालन हुने गरेको छ । मोना यूकेमार्फत म्याग्दीमा शिक्षा, स्वास्थ्य तथा सामाजिक एवम् मानवीय सेवामा लाखौं सहयोग भएको छ ।