म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तराष्ट्रियले स्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमतिको उपचारका लागि म्याग्दीमा १२ वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने भएको छ।

आइतबार भएको अनलाइन मिटिङमा म्याग्दीमा कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि संक्रमतिमा देखिएको स्वासप्रस्वासको समस्यालाई मध्यनजर गरी राष्ट्रिय समितिसँगको समन्वयमा १२ वटा कन्सन्ट्रेटर खरिद गर्ने निर्णय भएको महासचिव बिक्रम कार्कीले बताए ।

बैठकमा जिल्लाभित्र कोरोना संक्रमतिको उपचारमा बेनी अस्पताल सहित जिल्लाका सबै स्थानीय तहसँग समन्वयमा तत्काल अक्सिजन कन्सन्ट्रेटरको आवश्यकता देखिएको अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।

‘स्वासप्रस्वासमा समस्या आएपछि अस्पतालमा भर्ना हुन थालेका बिरामीको समस्याले दुखी भएका छौ,‘निर्णय लगत्तै खरिदका लागि आवश्यक पहल भइसकेको छ,‘यो अभियानमा साथ दिन सम्पूर्ण प्रवासी म्याग्देलीलाई अपिल समेत गछौं’ अध्यक्ष जुग्जालीले भने ।

तत्काल आवश्यकता परेकाले धेरै लामो समय होल्ड गर्न नसकिने अध्यक्ष जुग्जालीको भनाई थियो । सामान्य सास फेर्न गाह्रो भएकालाई दिने अक्सिजन कन्सन्ट्रेटरको आवश्यकता पर्छ । बेनी अस्पतालमा स्वासप्रस्वासमा समस्या आएपछि दैनिक कोरोना संक्रमित विरामीको चाप बढेको छ ।

अक्सिजन कन्सन्ट्रेटरलाई ७५ हजारदेखि १ लाख ५० हजारसम्म पर्ने भएकाले बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटरका बारेमा बेनी अस्पतालका चिकित्सकसँग समेत परामर्श लिने बैठकमा छलफल भएको थियो । मोनाले गर्ने सहयोगलाई जिल्लामा आवश्यकता परेको ठाउँमा प्रयोग गर्ने गरी पठाउने जनाइएको छ ।

मोनाको बैठकमा जिल्लामा कोरोना नियन्त्रणको फन्टलाइनमा खटिएकालाई धन्यवाद समेत दिइएको थियो । अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो ।

अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन् । जिल्लामा सकेसम्म हाइ फ्लो अक्सिजन फाल्ने मेसिन समेत आवश्यकता देखिएको छ ।