गैरआवासीय नेपाली संघ(एनआरएनए)अमेरिकाको सन् २०२१-२३ का लागि पाँच जना म्याग्देलीले उम्मेदवारी दिएका छन्। निर्वाचनको मिति नजिक आइरहेको अवस्थामा म्याग्देली उम्मेदवारहरू चुनावी प्रचार–प्रसारमा केन्द्रित भएका छन् ।

निर्वाचनमा उपाध्यक्ष पदमा धवलागिरी गाउँपालिका–१ गुर्जाका अमर छन्त्याल, बोर्ड अफ डाईरेक्टरमा बेनी नगरपालिका–५, थामडाँडाका इन्द्रबहादुर थापा र रघुगंगा गाउँपालिका–७ चिमखोलाका निलमकुमार थापा ‘चिमखोले ठिटो’ बेनी नगरपालिका–३ भकिम्लीका प्रेम सुबेदीले म्यारील्याण्ड च्याप्टरबाट उपाध्यक्ष र बेनी नगरपालिका–९ तोरीपानीका सञ्जोक कार्कीले म्यारील्याण्ड च्याप्टरबाट यूथ कोअर्डिनेटरमा उम्मेदवारी दिएका छन् ।

म्याग्देली उम्मेदवारहरू डा.अर्जुन बन्जाडेको प्यानलबाट चुनावी मैदानमा छन् । एनआरएनए अमेरिकामा बन्जाडेलाई बलियो उम्मेदवारको रूपमा हेरिएको छ । उपाध्यक्षका उम्मेदवार छन्त्याल यसअगाडी एनआएनए अमेरिकाकै बोर्ड अफ डाईरेक्टरमा अत्याधिक मतले विजय भएका थिए ।

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिका उपाध्यक्ष समेत रहेका छन्त्यालले विगत तीन दशकदेखि विभिन्न संघसंस्थामा रहेर काम गरेको अनुभव समेत छन् । बोर्ड अफ डाईरेक्टरका उम्मेदवार थापा समेत लामो समयदेखि अमेरिकामा विभिन्न संघसंस्थामा काम गरेका छन् ।

नेपालमा कानुन ब्यवसायीको रुपमा समेत काम गरेका थापाले अमेरिकामा धेरै नेपालीलाई समेत समस्या पर्दा सहयोग गरेका छन भने नेपालमा बर्षेनी लाखौं शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा सहयोग गर्ने अभियान्ता हुन् ।

थापामार्फत म्याग्दी सहित देशका विभिन्न जिल्लामा अभिभावकविहिन बालबालिकालाई उच्च शिक्षा सहित देशका विभिन्न जिल्लामा बर्षेनी सहयोग हुने गरेको छ ।

त्यस्तै अर्का बोर्ड अफ डाईरेक्टर थापा समेत २५ बर्षदेखि अमेरिकामा छन् ।उनले आफ्नो जन्मभूमि चिमखोला सहित म्याग्दीका विभिन्न अभियानमा सहयोग गरेका छन् ।

त्यस्तै म्यारील्याण्ड च्याप्टरबाट यूवा उपाध्यक्षमा सुबेदीले नेपालमा विभिन्न राजनीतिक तथा सामाजिक अभियानमा सक्रिय हुदै अमेरिका प्रवेश गरेका थिए ।अर्को यूथ कोअर्डिनेटर कार्की समेत लामो समयदेखि अमेरिकामा छन् । म्याग्देली उम्मेदवारले अमेरिकामा रहेका नेपाली र आफ्नो जन्मभूमिका लागि आफुँले सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकाको विभिन्न क्षेत्रमा छरिएका म्याग्देलीलाई अभियानमा साथ दिन समेत अपिल गरेका छन् । म्याग्देली उम्मेदवारको नेतृत्व गरिरहेका बन्जाडे अनुभवी र अमेरिकाका नेपालीमा बौद्धिक मानिन्छन् । नयाँ नेतृत्वका लागि मे २९ र ३० तारिकमा मतदान हुदैछ ।

Leave a Reply