वैवाहिक वर्षगाँठ अर्थात् म्यारिज एनिभर्सरी आ–आफ्नै तरिकाले मनाउने गरिन्छ । वैवाहिक वर्षगाँठको अवसरमा यस उत्सवलाई निकै धुमधामका साथ मनाइन्छ । यस्ता उत्सवहरुमा साथीभाइ तथा आफन्तजन र इष्टमित्रलाई बोलाएर भव्य पार्टी समेत दिइन्छ । विवाहउत्सव, जन्मदिनलगायत मनाउने क्रममा धेरै खर्च हुने गरेको छ ।

तर पछिल्लो समय यस्ता उत्सवहरु सामाजिक सहयोगका रुपमा रुपान्तरण हुन थालेका छन् । यसैक्रममा म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका शिव बानियाँले आफ्नो १७औं वैवाहिक वर्षगाँठ फरक तरिकाले मनाउनुभएको छ ।

उहाँ र उहाँकी धर्मपत्नी हिरा जिसी बानियाँले वैवाहिक वर्षगाँठको अवसरमा शनिबार पुलाचौर रेडक्रस उपशाखालाई आर्थिक सहयोग हस्तान्तरण गरी उत्सव मनाउनुभएको हो ।

बानियाँ दम्पतिले पुलाचौर उपशाखालाई नगद पाँचहजार रुपैयाँ आर्थिक सहयोग गरी वैवाहिक वर्षगाँठ अर्थात् म्यारिज एनिभर्सरी मनाएको बताएका छन् ।

उक्त रकम रेडक्रस उपशाखामार्फत पुलाचौर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिने भएको छ । नयाँ भेरिएन्टसहित विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण समुदायस्तरमा समेत तीव्र गतिमा पुगेपछि त्यसको रोकथाम गर्न सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरुले आर्थिक सहयोग गरेको शिव बानियाँले बताउनुभयो ।

उहाँले फजुल खर्च गर्नुभन्दा यस्ता सामाजिक काममा सहयोग गरेमा सकारात्मक सन्देश जाने हुँदा सहयोग गरेको जानकारी दिनुभयो । सहयोगी बानियाँ पेशाले शिक्षक हुनुहुन्छ । जनकल्याण माध्यमिक विद्यालय पुलाचौरको कक्षा ११÷१२ संयोजक रहनुभएका बानियाँको जिल्लास्थित र स्थानीयस्तरमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थामा आबद्धता रहेको छ । उहाँ नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाको सभापति र जिल्ला शाखाको कार्यसमिति सदस्य पदमा हुनुहुन्छ ।

Leave a Reply