सुर्खेत गुराँस गाउँपालिका–७, लालीकाँडा दैलेखका देवकुमार विसीको परिवार १५ वर्षदेखि सुर्खेतको वीरेन्द्रनगरमा कोठा भाडामा बस्दै आएको छ। एक गैरसरकारी संस्थामा कार्यरत उनी पछिल्ला केही वर्षदेखि गुराँस गाउँपालिकामा कार्यरत सब–इन्जिनियर उदयराज जैसीको वीरेन्द्रनगर–१० स्थित बौद्धिक टोलको घरमा बस्दै आएका छन्।

दोस्रो लहरको कोरोना संक्रमणका कारण देवकुमारकी ४० वर्षीया श्रीमती हिरा कोरोना संक्रमित भइन्। हिरालाई वैशाख २४ कर्णाली प्रदेश अस्पतालमा भर्ना गरियो। उपचारकै क्रममा उनको २८ गते मृत्यु भयो। घरधनीले कोरोना संक्रमण भएदेखिनै निस्कन दवाव दिइरहेका थिए। यस्तोमा मृत्यु संस्कार कोठामा बसेर गर्न दिने कुरो भएन। देवकुमारले श्रीमतीको काजकिरीया ससुरालीमा गर्नुपर्‍यो।

मंगलबार उनी कोठा खाली गर्ने तयारी गर्दै थिए। त्यसका लागि केही आफन्तलाई सामान सार्न पठाएका पनि थिए। घरधनी जैसीले ढोकामा उभिन पनि दिएनन्। ‘श्रीमती विरामी भएर अस्पताल लैजाँदा म र छोराछोरी एकसरो कपडामा कोठाबाट निस्केका थियौं,’ देवराजले भने, ‘यस्तो संकटको बेला पनि उहाँ (घरधनी)ले कोठाभित्र पस्न दिनु भएन।’

घरधनी जैसीले असारको पहिलो साता मात्रै कोठाभित्र पस्नु भन्दै देवराजलाई एसएमएस पठाएका छन्। ‘मेरो एटीएमदेखि सबै सामानहरु त्यहीँ छ, लगाउनका लागि कपडा पनि छैन,’ उनले भने, ‘सामान मात्रै ल्याउन दिएको भए केही सहज हुने थियो।’

उनले कोठाको सामान सार्ने विषयमा टोल विकास संस्थासँग पनि गुहार मागेका थिए। घरधनीले कसैको कुरा सुनेनन्। भारतमा निषेधाज्ञा सुरु भएपछि देहरादूनमा पढ्दै गरेको छोरो वैशाखको सुरुमा आउँदा पनि उनी कोठाभित्र पस्न पाएनन्। ‘भारतबाट कोरोना ल्याएर आएको भन्दै छोरालाई पनि कोठाभित्र पस्न दिइएन, एक सातासम्म मामा घरमा राख्नुपर्‍यो,’ उनले भने, ‘अहिले कोठा सर्छु भन्दा पनि पाइराखेको छैन।’

घरधनी जैसीले सबै सुरक्षित हुनका लागि अझै केही दिन बाहिरै बस्न आग्रह गरेको बताए। ‘अहिले कोरोनाको जोखिम छ, असारको पहिलो सातातिर सामान सार्नुहोला केही समय दुःख गर्नुहोस् भनेको हुँ,’ जैसीले भने, ‘यस्तो जोखिममा कहाँबाट कोठाभित्र पस्न दिनु?’ उनले नौ महिनादेखि आफूले भाडा पनि नलिएको र यो कोरोनाको बेला बाहिर बस्दासम्मको भाडा पनि आफूले नलिने जानकारी गराइसकेको बताए।

उनले कोठा सार्नेनै भए स्वास्थ्यकर्मीहरुलाई ल्याएर आफ्नो कोठा सेनिटाइज गर्नुपर्ने बताए। ‘यस्तो जोखिमको बेला म कोठाको सरसफाई गर्न सक्दिँन,’ उनले भने, ‘पीपीई लगाएका स्वास्थ्यकर्मीहरुलाई ल्याएर कोठा सेनिटाइज गरिदिने हो भने समान लिन दिन्छु।’ nagariknews.com

Leave a Reply