बागलुङ नगरपालिकामा १४ वटा वडा छन् । ती मध्ये १ देखि ४ सम्मका वडाले सहरी क्षेत्र ओगटेको छ । बाँकी दशवटा वडा ग्रामिण भेग हुन् । सहरी क्षेत्रको तुलनामा ग्रामिण भेगका वडाको जनघनत्व निकै नै कम छ । तर, कोरोना भाइरस संक्रमणको गति भने अहिले जनघनत्व बढी भएको सहरी भेग भन्दा कम जनघनत्वको ग्रामिण भेगमा तिब्र छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीका अनुसार अहिले नगरपालिकाभित्र ३ सय भन्दा बढी सक्रिय संक्रमित छन् । ती मध्ये १५० जना जना मात्र सहरी क्षेत्रका वडा (१ देखि ४ सम्म) छन् । बाँकी सबै ग्रामिण क्षेत्रका वडाका बासिन्दा हुन । ‘सहरमा भन्दा गाउँमा डरलाग्दो हुँदै गएको छ ।

सहरको तुलनामा गाउँमा जनघनत्व स्वतः कम हुने नै भयो । तरपनि संक्रमणको गति भने गाउँमा छ,’ ज्ञवालीले भने, ‘गाउँमा डरलाग्दो अवस्था निम्त्याएको छ ।’ वडाको संख्याको हिसाबले मात्र सहरको भन्दा बढी भएपनि जनघनत्व गाउँमा निकै नै कम भएको उनले बताए ।

‘गाउँमा मास्क पनि नलगाउने, आफ्नै इष्टमित्र हुन भनेर आउजाउमा वेवास्ता गरिएको छ,’ उनले भने, ‘इष्टमित्रको त्यही आउजाउ नै अहिले गाउँमा कोरोना फैलाउने माध्यम बनेको छ ।’ पछिल्लो समय गाउँमा जोखिम बढ्दै गएको उनले बताए। सहरको र गाउँको जनघनत्वको आकारका विश्लेषण गर्दा पनि आधा बढी संक्रमण ग्रामिण क्षेत्रमा हुनु डरलाग्दो भएको उनले बताए ।

‘जनघनत्व गाउँमा निकै नै कम छ । सहरमा जस्तो भीडभाड गाउँमा छैन । भौतिक दूरी कायम गर्न गाउँमा सहज पनि छ,’ उनले भने, ‘तर संक्रमणको गति भने गाउँमा बढी छ । जनघनत्वको हिसाबले त गाउँमा भन्दा सहरमा बढी हुनुपर्ने भएपनि अहिले गाउँमा बढी छ । ग्रामिण क्षेत्रमा वेवास्ता भएकै हो ।’

स्याङजाको पुतलीबजार नगरपालिकाको अवस्था पनि बागलुङको भन्दा फरक छैन । पुतलीबजारका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माका अनुसार पुतलीबजारका १, ३ र १३ नम्बर वडामा जनघनत्व बढी छ । नगरपालिकाका १४ वटा वडा मध्ये तीनवटा (१, ३ र १३) को तुलनामा ग्रामिण क्षेत्रका ११ वटा वडामा भएका संक्रमितको संख्या बढी रहेको उनले बताए । उनका अनुसार पुतलीबजारमा मात्र २ सय भन्दा बढी सक्रिय संक्रमित छन । ती मध्ये ४० प्रतिशत हिस्सा सहरी क्षेत्रका तीनवटा वडाले ओगटेका छन । बाँकी ६० प्रतिशत हिस्सा गाउँका ११ वटा वडाले लिएका छन ।

‘गाउँमा परीक्षण हुन सकेको छैन । गाउँमा मान्छे घरघरमा भेला भएर बसेर दिन कटाएका छन । गाउँका गतिविधि कुनै पनि रोकिएका छैनन । गाउँमा चेतनाको कमी पनि छ,’ उनले भने, ‘अहिले नियमित हिसाबले मान्छे आउजाउ भएको छ ।’ सहरमा निषेधाज्ञाले संक्रमण कम हुँदै गएपनि गाउँमा भने निषेधाज्ञाको प्रभाव नपरेको उनले बताए ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार सहरमा कडा निषेधाज्ञाले संक्रमण ‘जाम’ भएपनि गाउँमा भने भुसको आगो फैलिएजसरी तिब्र भएको छ । ‘अझै दुईहप्ता कडा लकडाउन गर्ने हो भने सहरमा नियन्त्रण हुन्छ । सहरमा नियन्त्रणमा हुनु भनेको चेन ब्रेक हुनु हो,’ शर्माले भने, ‘तर गाउँमा चेनब्रेक हुन नसकेको हो ।’ गाउँमा हिडडुलमा हल्का हुँदा यो अवस्था आएको उनले बताए ।

‘उनका अनुसार सहरका मान्छे कोरोनाप्रति सचेत छन् । तर, गाउँमा भने हामी सहरीया भीडभाडमा छैनौ भनेर ढुक्क भएका हुन्,’ उनले भने, ‘तर, गाउँमा ढुक्क हुने अवस्था छैन ।’ सहरबाट गएका आफन्त र नातीनातिनाबाट अहिले गाउँमा संक्रमण फैलिएको उनको अनुमान छ । ‘सहरमा बसेका बच्चाबच्चीले गाउँमा पाका उमेरकालाई सारेका छन । भुसको आगो झैं अहिले गाउँमा छ । यो साच्चै डरलाग्दो हो,’ उनले भने ।

Leave a Reply