म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना यूकेका प्रतिनिधि राजु पुनले अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालमा स्वासप्रस्वासमा समस्या आएपछि पछिल्लो समय कोरोना संक्रमित विरामीको चाप बढ्न थालेपछि अक्सिजन कन्सन्ट्रेटरको आवश्यकता रहेको अवस्थामा प्राप्त सहयोगले उपचारमा सहज हुने अध्यक्ष कटुवालले बताउनुभयो ।

‘प्रवासी म्याग्देलीको यो सहयोगले उपचारमा धेरै राहत मिल्ने छ,‘समुदायस्तरबाट प्राप्त भएको सहयोगको सबै अभिलेखमा राखिएको छ’ अध्यक्ष कटुवालले भन्नुभयो ।

अस्पतालमा प्रवासमा रहेका म्याग्देली सहित विभिन्न नेपाली संघसंस्थाले समेत अक्सिजन कन्सन्ट्रेटर सहयोगको प्रतिबद्धता जनाएको समेत अध्यक्ष कटुवालको भनाई छ ।

मोना यूकेले बेनी अस्पताललाई १ थान, मोना आइसीमार्फत म्याग्दीमै आउने गरी १ थान र बेलायतस्थीत नेपाली दुतावासलाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको अध्यक्ष दल जुग्जालीले बताउनुभयो ।

उहाँले म्याग्दी जिल्लाका बिरामीलाई उपचारका लागि कुनै समस्या हुन नदिन भविस्यमा समेत थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । मोना यूकेको जुम मिटिङबाट जिल्लामा अक्सिजनको आवश्यकता परेकाले तत्काल ब्यवस्थापनमा जोड दिइएको महासचिव लालु पुनले जानकारी दिनुभयो । अक्सिजन कन्सन्ट्रेटर सामान्य सास फेर्न गाह्रो भएकालाई दिने मेसिन हो ।

अक्सिजन कन्सन्ट्रेटरले बाहिरको हावालाई फिल्टर गर्छ । एकातिरबाट अक्सिजन र अर्कोतिरबाट नाइट्रोजन फाल्छ । मेसिनको अर्को लिक्विड प्लान्टबाट अक्सिजन बनाइन्छ र बिरामीले अक्सिजन प्रयोग गर्छन्। जिल्लामा सकेसम्म हाइ फ्लो अक्सिजन फाल्ने मेसिन समेत आवश्यकता देखिएको छ । मोना यूकेमार्फत म्याग्दीमा यसअगाडी रेडक्रस सोसाईटीमार्फत सञ्चालन हुने गरी एम्बुलेन्स सहित विभिन्न क्षेत्रमा सहयोग समेत भएको छ ।