एसियन च्याम्पियनसिप प्रतियोगिताका लागि म्याग्दीका दुई भलिबल खेलाडी बन्द प्रशिक्षणका लागि छनौट हुनुभएको छ। राष्ट्रिय नेपाली महिला भलिबलले प्रतियोगितामा भाग लिने खेलाडीको छनौट गरेसँगै रघुगंगा गाउँपालिका–३ पिप्लेकी अरुणा शाही र मालिका गाउँपालिका-३ रुमकी कमला पुनलाई सूचीमा राखिएको छ।

अन्तराष्ट्रियस्तरको खेलमा खेलाडीको अभ्यासका आधारमा छनौट गर्ने गरिएकोमा यसअगाडी महिला र पुरुष टिमका नियमित खेल्ने खेलाडीहरु समेत छनौटमा परेका थिएनन् । यसपटक समेत नेपाल भलिबल संघले नयाँ खेलाडीलाई अवसर दिने चर्चासँगै पुराना खेलाडी टिमबाट बाहिरिने जोखिम समेत उत्तिकै थियो ।

बन्द प्रशिक्षाण्का लागि छनौट भएका ३० जना खेलाडीको नेतृत्व समेत नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तान शाहीले गर्ने जनाइएको छ। शाहीको नेतृत्वमा एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधी र १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा रजक पदक जितेर नयाँ इतिहास कोरेको थियो । नेपाली महिला भलिबल टोलीले पहिलो पटक एसियन च्याम्पियसिप खेल्ने मौका पाएको हो । राष्ट्रिय टोलीमा शाही र पुनले उत्कृष्ट प्रर्दशन गर्ने गरेका छन् ।

छनौट भएका खेलाडीलाई आगामी जेठ २१ बाट बन्द प्रशिक्षण हुने निर्णय नेपाल भलिबल संघले जनाएको छ । यसपटक एसियन च्याम्पीयन बन्ने लक्ष्य सहित प्रशिक्षणमा सहभागी हुने कप्टान शाहीको भनाई छ । महिला भबिलबलमा एशियाली देशमा नेपाललाई समेत बलियो प्रतिस्पर्धी मानिन्छ । यसअगाडी नेपाली टोली छनौट तथा प्रशिक्षण, मैत्रीपूर्ण खेलमा सहभागी हुन थाईल्याण्डमा समेत गएको थियो । एभिसीले पछिल्लो पटक सार्वजनिक गरेको तालिका अनुसार एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।