खोपको हाहाकार भइरहेको बेला विराटनवरमा सर्वसाधारणलाई सार्वजनिक सूचना नगरी गोप्यरुपमा कोराना बिरुद्धको खोप लगाएको पाइएको छ । विराटनगर महानगरपालिकाको वडा नम्बर २ मा शुक्रबार दिउँसो एउटा यस्तै रहस्य बाहिर आएको छ ।

विराटनगरको- २ स्थित तीनपैनीमा रहेको सिटी सिनेमा हल परिसरमा शुक्रबार दिउँसो कोरोना विरुद्धको खोप लगाउने काम भयो । तर सो विषयमा सर्वसाधारण जानकार थिएनन् । दिउँसो १ बजेपछि सिटी सिनेमा वरिपरिको सडकमा सम्बन्धित वडाबाहिरका व्यक्तिहरुको चहलपहल बढ्न थाल्यो । केही बेरमैँ तीनपैनी चोक सडकको चारै किनारामा निजी चारचक्के गाडी र मोटरसाइकल लगायतका सवारीसाधनको लाइन लाग्न थाल्यो ।

भीड बढदै गए पनि सर्वसाधारण भने बेखबर थिए । सिटी सिनेमा परिसरमै एउटा निजी बैंकसमेत रहेकाले कतिपयले बैंकमा लागेको भीडको रुपमा बुझे भने कतिपयले भीड लाग्नुको कारण खोतल्न थाले । यतिन्जेलसम्ममा कयौं मानिसहरु सिटी सिनेमा हल परिसरमा प्रवेश गरिसकेका थिए ।  हलको दुवै तर्फको मूल गेटमा भने ताल्चा लगाइसकिएको थियो । भित्रबाट खोप लगाएको जानकारी आएपछि आसपासका बासिन्दाहरु समेत खोप लिने भन्दै त्यहाँ जम्मा हुन थाले । तर गेटमा ताल्चा लगाइएकाले धेरै मानिसले प्रवेश गर्न पाएनन् । अनि विरोधको क्रम शुरु भयो । खोप कसले कसलाई दिएको हो भनेर समेत कुनै सूचना पाउन नसकेपछि कतिपय सर्वसाधारण आक्रोशित भए ।

स्थानिय विरोधमा

भीड र होहल्ला बढदै गएपछि भने नजिकै रहेको प्रहरी समेत हल सामुन्ने जम्मा भयो र केहि बेरपछि हल परिसरको मुल गेट खोलियो र बाहिर जम्मा भएको सबै मानिसहरु परिसरभित्र प्रवेश गरे । यतिन्जेल सम्ममा खोपका लागि खटिएका कर्मचारीहरु खोप दिने काम सकेर बाहिर निस्कन सरकारी गाडीमा बसिसकेका थिए । त्यस्तो अवस्था भेटेपछि स्थानीय युवाहरुले कसको आदेशमा कसलाई खोप दिन आएको भन्दै प्रश्न गरेका थिए । तर खटिएका कर्मचारीहरुले कुनै प्रतिक्रिया दिन मानेनन् । उनीहरुले आफूहरु खटिएको कर्मचारी मात्र भएकाले सबै जानकारी नहुने जवाफ दिएका थिए । सञ्चारकर्मीहरुले समेत सो विषयमा जिज्ञासा राख्दा खटिएकाहरुले केही पनि जानकारी दिन मानेनन् ।

भीड र होहल्ला बढ्दै गएपछि केहीबेरमै प्रहरीको थप बल आइपुग्यो र स्कर्टिङ गरेर खोपका लागि आएको बा १ झ ९३६५ नम्बरको सरकारी गाडी र कर्मचारीलाई बाहिर पठाइयो । सो विषयमा प्रतिक्रिया राख्दा विराटनगर महानगरपालिकाका स्वास्थ्य सम्बन्धि जिम्मेवार कर्मचारीहरुले आफुहरुलाई खोपको बिषयमा कुनै जानकारी नरहेको बताएका छन । विराटनगर २ का वडाध्यक्ष कुमार पोखरेलले आफुलाई समेत खोप लगाउने बिषयमा कुनै जानकारी नआएको बताउनुभयो ।

कतिपयले उद्योग संगठन र मोरङ व्यापार संघको अगुवाईमा प्रदेश सरकारबाट उपलब्ध गराइएको खोप सीमित छानिएका व्यक्तिहरुलाई त्यहाँ लगाइएको दाबी गरेका छन् । यद्यपि उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले समेत आफू त्यस विषयमा जानकार नरहेको बताउनुभएको छ ।

यतिखेर दोश्रो चरणको संक्रमण शिखरमा छ र खोपको अपरिहार्यता थप बढेको छ । यस्तो अवस्थामा सरकारी अनुदानको खोप बिना-सूचना निजी संस्थामा गएर गोप्यरुपमा वितरण गरिनु उचित मान्न सकिन्न ।

Leave a Reply