ज्यान मुद्दाका फरार प्रतिवादीहरू हतियारसहित पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले चार जना फरार प्रतिवादीलाई चार थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका वडा नम्बर ३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय वुद्धवीर लिम्बु, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका वडा नम्बर १ का १९ वर्षीय विपन लिम्बु छन्। उनीहरूलाई बुधबार प्रहरी टोलीले पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए।खड्काका अनुसार केराबारी गाउँपालिका-३ का हस्तबहादुर राईको कर्तव्य ज्यान मुद्दामा उनीहरू फरार थिए।

वैशाख ८ गते हस्तकुमार राई, रुविन लिम्बु, गजेन्द्रबहादुर राईसहित १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा सिकार खेल्न गएका थिए। उनीहरूमध्ये गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागि हस्तबहादुरको मृत्यु भएको थियो। त्यसको भोलिपल्टै रुविन लिम्बु र गजेन्द्रबहादुर राई पक्राउ परे पनि अन्य व्यक्तिहरू फरार थिए।

खड्काका अनुसार उनीहरूले बाँसघारी खोप सरकारी राष्ट्रिय वनमा ढलेको सखुवाको रूखको चेपमा माटो र पातले छोपेर भरुवा बन्दुक लुकाएका थिए। उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको छ। प्रहरी निरीक्षक सरोज खनालका अनुसार पक्राउ परेकाहरूलाई ज्यानमुद्दा र हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको छ।

Leave a Reply