Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

तपाईं दोस्रो बजारमा प्रवेश गरी सेयर कारोबारमा लाग्न खोजिरहनु भएको छ ? यदी हो भने केही आधारभूत कुराहरु तपाईलाई थाहा हुनैपर्छ। केही आधारभूत कुराको जानकारीबिना बजारमा प्रवेश गर्नु भनेको आफ्नो सम्पत्तिलाई च्याखेँ थाप्नुसरह नै हुन्छ।

बजार बढिरहँदा ‘अझै बढ्छ, यो यो कम्पनीहरु किन्नुहोस्’ भन्नेहरु धेरै भेटिन्छन्। घट्दाखेरि त्यसैगरी ‘सबै बेच्नुहोस्, अझै घट्छ’ भनेर हल्ला गर्नेहरु सक्रिय रहन्छन्। नेप्सेको ट्रेण्ड जता जान्छ, मनोवल पनि त्यसरी नै विकास हुन्छ। बढेको बजारमा अझै बढ्छ र घटेको बजारमा अझै घट्छ भन्ने मनोवलमा अधिकांश लगानीकर्ता रुमल्लिएका हुन्छन्। बजार छिरिसकेपछि तपाईले बढ्दा र घट्दा दुवै अवसरको फाइदा लिन सक्नुपर्छ।

विगतका घटनाक्रम, अन्तर्राष्ट्रिय अभ्यास र केही विज्ञहरुसित परामर्श गरेका आधारमा नयाँ लगानीकर्ताका लागि केही आधारभूत टिप्स दिन गइरहेका छौँ। ति टिप्सलाई राम्ररी अवलम्वन गर्ने हो भने तपाईले धेरै हदसम्म जोखिम न्यूनीकरण गर्न  र लगानीबाट नाफा लिन सक्नुहुन्छ।

वित्तीय स्थिति कस्तो छ ?
मोटामोटी रुपमा तपाईले किन्ने कम्पनीको वित्तीय स्थिति जानकारी हुनैपर्छ। कम्पनीहरुले प्रत्येक साउन, कात्तिक, माघ र वैशाख महिनामा कुनै एउटा राष्ट्रिय दैनिक पत्रिकामा वित्तीय विवरण प्रकाशन गर्दछन्। साथै आफ्नो वेबसाइटमा पनि त्यो विवरण राखेका हुन्छन्। वित्तीय स्थिति हेर्दा यी कुराहरु सम्झिरहनुहोस्

प्रतिसेयर आम्दानी (ईपिएस) : कम्पनीको प्रतिसेयर आम्दानीले भविष्यमा उसले दिन सक्ने प्रतिफल क्षमतालाई प्रष्ट्याउँछ। सकेसम्म धेरै प्रतिसेयर आम्दानी हेर्नुहोस्। वाणिज्य बैंकहरुको हकमा इपिएस १६–२० सम्मलाई प्रतिकित्ता ४ सयभन्दा कम, २०–२५ सम्मलाई ५ सयभन्दा कम, २५–३० सम्मलाई ६ सयभन्दा कम हाल्न सकिन्छ। यसले मूल्य आम्दानी अनुपात सन्तुलनमा राख्न सक्छ।

मूल्य आम्दानी अनुपात (पिई रेसियो): बजार मूल्य र प्रतिसेयर आम्दानीको अनुपातलाई मूल्य आम्दानी अनुपातले केलाउँछ। बजार मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेपछि यो अनुपात निस्कन्छ। यदी यसको अंक २५ छ भने एक रुपैयाँ कमाई गर्नका लागि २५ रुपैयाँ लगानी परेको छ भनेर सम्झनु पर्दछ।

यस्तो अनुपात जति कम त्यति राम्रो मानिन्छ। वाणिज्य बैंकहरुको हकमा २५ भन्दा कम हुनु राम्रो मानिन्छ।

जगेडा कोष (रिजर्भ) : जगेडा कोषमा रकम धेरै हुनु राम्रो हो। यसले भोलि तपाईलाई सेयर बोनस दिन सक्ने क्षमता धेरै रहेको जनाउँछ। नगदभन्दा सेयर बोनसतर्फ नै लगानीकर्ताले बढी प्राथमिकता दिएका हुन्छन्। साथै भइपरी आउने नोक्सानीलाई व्यवस्थापन गर्न पनि यो कोष मजबुत हुनु जरुरी हुन्छ।

विगतमा लाभांश दिइरहेको छ त ? नगद वा बोनस सेयर के दिन्छ ?
जहिले पनि नगदभन्दा बोनस सेयर दिने कम्पनीलाई लगानीकर्ताले रुचाएको पाइन्छ। वर्षेनि लाभांश दिइरहेको, त्यसमा पनि बोनस सेयर दिइरहेको कम्पनी छान्नु पर्छ। कम्पनीहरुको वेबसाइटमा त्यस्ता सूचनाहरु संग्रह पनि गरिएका हुन्छन्। विदेशी लगानीका कम्पनीहरुले बोनसभन्दा नगद लाभांश वितरणमा बढी जोड दिन्छन्। तिबाहेक नेपाल टेलिकम पनि नगद लाभांश मात्रै दिने कम्पनी हो।

कम्पनीको बिजनेस प्रगतिउन्मुख छ त?
सूचकहरु उपयुक्त भएर मात्रै पुग्दैन। वर्षेनि कम्पनीको बिजनेसमा प्रगति देखिएको हुनुपर्यो। प्रतिस्पर्धात्मक यो समयमा बिजनेस बढ्न नसकेको खण्डमा भोलि मूल्यमा सीधै असर पर्दछ।

बैंकहरुको हकमा कुल व्याज आम्दानी, बिमा कम्पनीहरुको हकमा बिमा शुल्क, जलविद्युत तथा उत्पादन कम्पनीको हकमा बिक्री आम्दानीलाई पहिलेकोसँग तुलना गर्नुपर्छ।

नाफा, प्रतिसेयर आम्दानी, जगेडा कोषको आकार बढ्दै गएको हुनुपर्यो। लगानीकर्तालाई दिने गरेको लाभांशको दर पनि बढ्दै गएको हुनुपर्यो। यदी घटेको खण्डमा त्यसको कारण र आगामी दिनमा हुने प्रभावलाई पनि केलाउन त्यति गाह्रो पर्दैन। त्यसकारण वित्तीय विवरण हेर्दा एक वर्षअघिको स्थितिलाई पनि समीक्षा गर्न भुल्नु हुँदैन।

Business Graph with arrow and coins showing profits and gains

एक वर्षको बजार मूल्य कस्तो छ ?
कम्पनीको विगत एक वर्षको बजार मूल्य पनि केलाउनुपर्छ। विगतमा कतिसम्म मूल्य पुगेको थियो र हाल किन्न लागेको मूल्य कति सस्तो वा महँगो हो भन्ने कुरालाई एक वर्षको ट्रेण्डले पनि स्पष्ट पार्छ। नेप्सेको वेबसाइटमा रहेको ट्रेण्डभन्दा माथिको लाइनमा कम्पनीमा क्लिक गरेर कम्पनी छनौट गरेपछि साप्ताहिक, मासिक वा एक वर्षको कम्पनीको मूल्य उतारचढाव देखिन्छ।

साउन भदौमा होइन मंसिर पुसतिर मात्रै प्रवेश गरौँ
नयाँ लगानीकर्ता असार साउनमा बजारमा बढी प्रवेश गर्ने गरेको ब्रोकर कम्पनीहरु बताउँछन्। यतिबेला विभिन्न कम्पनीहरुको नाफा बाहिरिने, बजारमा सकारात्मक समाचार धेरै हुने हुँदा त्यस्तो प्रभाव परेको हो। तर अनुभवीले पहिले नै यस्ता कुराको अनुमान गरी यतिबेला किन्नभन्दा बेच्नलाई जोड दिएका हुन्छन्।

त्यसकारण नयाँ लगानीकर्ता बजार छिर्नका लागि मंसिर तथा पुस महिना उपयुक्त हो। विगत हेर्ने हो भने पनि अधिकांश वर्ष मंसिर र पुसमा सेयर मूल्य घटेको हुन्छ भने चैत वैशाखदेखि बढ्न सुरु गर्छ।

गत आर्थिक वर्षलाई हेर्दा पुसका अन्तिम दिनमा सबैजसो कम्पनीको मूल्य एक वर्षकै न्यून छ। साउन र भदौमा नेप्से उच्च अंकमा पुगेको देखिन्छ, गत वर्ष साउन १२ गते सबैभन्दा उच्च १८८१ अंक पुगेको थियो। यस्तो बेला बजार प्रवेश गर्नु जोखिम हुन्छ।

थोरै थोरै लगानीबाट थालनी, त्यो पनि वाणिज्य बैंकबाटै
भएभरको पैसा एकैपटक हालेर किन्नु हुँदैन। आफूसँग भएको पैसाबाट थोरै थोरै सेयर किन्न सकिन्छ। पहिलो पटक केही सेयर उठाइसकेपछि अझै घट्यो भने फेरि किन्नुपर्छ भन्नेगरी पुँजी तयार गर्नुपर्छ। यसले औसत लागत घटाउन पनि सघाउ पुग्छ।

जस्तो प्रतिकित्ता ५ सयमा दुई सय कित्ता एकैपटक किन्दा एक लाख रुपैयाँ (कमिसनबाहेक) लागत पर्छ भने ५ सय हुँदा एक सय र साढे ४ सयमा झरेपछि अर्को एक सय कित्ता किन्दा लागत मूल्य ९५ हजार (कमिसनबाहेक) हुन आउँछ। यहाँ २ सय कित्ताको औसत मूल्य ४७५ मात्रै पर्न गयो। त्यसैले एकैपटक सेयर नकिनी पटक पटक थप्न सक्नेगरी तयार हुनु पर्छ।

नयाँले किन्दा वाणिज्य बैंकबाटै थाल्नु उपयुक्त हुन्छ। किनकी वाणिज्य बैंक समूह तुलनात्मक रुपमा जोखिम कम भएको समूह हो। वाणिज्य बैंकको सेयरको उतारचढाव अन्यको तुलनामा कम हुन्छ। यसले जोखिम पनि कम गर्छ।

भविष्यमा संभावित घटनाक्रमको मूल्याङ्कन
संभावित घटनाक्रमको मूल्याङ्कन गर्न जान्ने हो भने पनि धेरै हदसम्म बजारबाट फाइदा लिन सकिन्छ। जस्तोः आगामी माघसम्म प्रदेश र केन्द्र दुवै तहको चुनाव गराउनुपर्ने राजनीतिक रुपमा वाध्यता छ। यदी चुनाव भयो भने बजार बढ्न सक्छ र भएन भने घट्न सक्छ भन्ने कुरालाई अहिलेको राजनीतिक वातावरणबाट अनुमान गर्दै जानु लगानीकर्ताका लागि बुद्धिमानी हुन्छ।

तिबाहेक अन्य धेरै घटनाक्रममा विकसित वातावरणको मूल्याङ्कन गर्न सकिन्छ। विश्वमा यस्ता अनेक घटनाक्रमको मूल्याङ्कनबाटै सेयरमा किन्ने र बेच्ने अवसर छोप्ने गरिन्छ।

लगानी कम्तीमा ६ महिना, धेरै फाइदा भएको खण्डमा बीचमै बेच्ने
अरु खर्चका लागि पैसा भएन भनेर बीचमै सेयर बेच्ने हो भने नकिन्नु नै बुद्धिमानी हुन्छ। पैसा चाहिएका बेला सेयरको मूल्य घटेको हुन सक्छ र बेच्दा त्यसले नोक्सान पर्न जान्छ। त्यसकारण कम्तीमा लगानी गरिसकेपछि ६ महिना कुर्न सक्नुपर्छ।

जस्तो पुसमा सेयर किनिसकेपछि साउन भदौमा राम्रो मूल्य पाएको खण्डमा बेच्न सकिन्छ। यदी राम्रो मूल्य पाइएन भने राखेर बोनस खानु नै उपयुक्त हुन्छ। भएको सेयरमा प्लस बोनस भइसकेपछि अर्को वर्ष किनेकै मूल्यमा बेच्दा पनि राम्रो फाइदा लिन सकिन्छ।

बियरिस ट्रेन्ड देखिए जोखिम कम गर्ने
यदी सेयर बजारलाई प्रभाव पार्ने अरु आधारभूत पक्षहरु बलिया देखिए र ट्रेण्ड लगातार झर्न थालेको खण्डमा आफूसँग भएको सेयर तुरुन्तै बेचेर अत्याधिक घटेका बेला पुनः किन्दा जोखिम कम गर्न सकिन्छ।

बजारमा ६ सय रुपैयाँको सेयर लगातार घटेर साढे ५ सयमा झर्दा बेचियो र पाँच सयमा आएपछि त्यति नै कित्ता पुनः खरिद गरियो भने त्यत्तिकै राख्नुभन्दा जोखिम कम हुन जान्छ। यसलाई ‘स्टप लस’ पनि भन्ने गरिन्छ। तर बियरिस ट्रेन्ड कति लम्बिन सक्छ भन्ने अनुमान लगाउन चुनौतिपूर्ण हुन्छ।

व्याजदर बढ्न थाल्नु, बजारमा सेयरको आपूर्ति बढ्नु, जटिल परिस्थितिका घटनाक्रमहरु विकास हुनु, द्वन्द्व उत्पन्न हुनुजस्ता पक्षले बजारलाई लामो समयसम्म बियरिस ट्रेन्डमा पार्न सक्छ।

नआत्तिने र नमात्तिने
आफूले सेयर किनेको भोलिपल्टै सूचक रातो हुँदा मन आत्तिन सक्छ, तीन दिनसम्म बजार घट्ने हो भने डिम्याट खातामा सेयर आएकै दिन पुनः बेच्न हतारिने प्रवृत्ति लगानीकर्तामा छ। बजारको प्रवृत्ति घट्ने बढ्ने नै हो। घटेर बेच्ने हो भने नोक्सान भइसक्यो।

तर घटेर पनि नबेच्ने हो भने त्यो वास्तविक नोक्सान हुँदैन। त्यसकारण बजारमा सेयर किनिसकेपछि केही घट्दैमा आत्तिनु हुँदैन। त्यसैगरी किनेको भोलिपल्टबाट फेरि बढ्यो भने तुरुन्तै मात्तिएर बेच्नु पनि उपयुक्त हुँदैन। किनकि किन्दा र बेच्दा दुवैपटक कमिसन र अनेक शुल्कहरु खर्च भएको हुन्छ। यस्ता कमिसनको पनि हिसाव गर्नु पर्छ। Source: setopati.com

Leave a Reply