कतारमा रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले गृह जिल्लामा ४० लिटर बराबरका ६ वटा अक्सिजन सिलिण्डर र ६ वटा अक्सिजन फ्लो मिटर सहयोग स्वरुप पठाउने भएको छ ।

संघको आज बसेको बैठकले कोरोनाका कारण म्याग्दी जिल्लाको विषम परिस्थिति लाई मध्य नजर गर्दै उक्त सामाग्री पठाउन लागेको जनाएको छ । “गृह जिल्लामा अक्सिजन लगायतका अति आवश्यक सामाग्रीहरू पठाऔँ, बिरामी तथा आफन्तको उद्धार गरी ज्यान बचाऔँ” भन्ने मूल नाराका साथ संघले कतारमा आर्थिक सहयोग सङ्कलन अभियान सञ्चालन गरेको थियो ।

उक्त अभियान मार्फत करीब ४ लाख नेपाली रुपैया संकलन भएको संयोजक राजु पौडेलले जानकारी दिनु भयो। पौडेलका अनुसार मोना आईसिले म्याग्दीमा प्रदान गर्न लागेको १२ वटा अक्सिजन कन्सन्ट्रेटर मध्य १ वटा बराबरको रकम करीब १ लाख रुपैया मोना कतारको तर्फबाट सहयोग गरीने निर्णय भएको जानकारी दिनु भयो।

बेनीमा रहेको ढकाल मेडीकल हल संगको समन्वयमा उक्त सामाग्री खरीद गरी केही दिनमै एक कार्यक्रमका बिच म्याग्दी जिल्लाका सबै गॉउपालीका तथा नगरपालीकालाई हस्तान्तरण गरीने अध्यक्ष नरेन्द्र फगामीले जानकारी दिनु भयो । बैठक फगामीको सभापतित्व तथा मोना आईसिका महासचिव बिक्रम कार्कीको प्रमुख आतिथ्यतामा समपन्न भएको थियो