म्याग्दीमा बैंक तथा सहकारी खुलेसँगै कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । नयाँ भेरिएन्टसहितको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर महामारीका रुपमा फैलिरहेको अवस्थामा म्याग्दी सदरमुकाम बेनीमा जारी निषेधाज्ञा खुकुलो बनाएपछि सेवाग्राही तथा सर्वसाधारणहरुको भीड लागेको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमसँगै जारी निषेधाज्ञालाई केही खुकुलो बनाएसँगै आइतबार खुलेका बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको भीडभाड देखिएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले हप्तामा दुई दिन बैंक तथा वित्तीय संघसंस्था खोल्ने निर्णय गरेपछि बैंक र सहकारी संघसंस्थामा सर्वसाधारणहरुको भीड लागेको छ ।

जिल्ला सदरमुकाम बेनीबजारसहित स्थानीय तहमा रहेका बैंक तथा वित्तीय संघसंस्थामा सर्वसाधारण सेवाग्राहीको भीड लागेको थियो । सदरमुकाम बेनीमा रहेका बैक तथा वित्तीय संस्था बाहिर सर्वसाधारणहरु लामो लाइन लागेर बसेका थिए ।

विगत लामो समयदेखि जारी निषेधाज्ञाका कारण आर्थिक कारोबार गर्न नपाएका अधिकांश सर्वसाधारणहरु बैंक र सहकारीमा आ–आफ्नो सेवा लिने पालो पर्खिएर बसेका देखिन्थे । हप्तामा दुई दिन मात्र अनि आधा दिनको थोरै समय कारोबार हुने भएपछि ग्रामीण भेकका सर्वसाधारण बिहानै बजार झरेका थिए ।

गएको बैशाख २३ गतेदेखि जारी निषेधाज्ञाको अवधिमा आर्थिक कारोबार बन्द भएकाले सहर, बजारदेखि ग्रामीण क्षेत्रबाट समेत सर्वसाधारणहरु कारोबार गर्नका लागि बैंकमा आएको प्रभु बैंक बेनी शाखाका प्रमुख लालकुमारी खड्काले बताइन् ।

उनले कोरोनाको जोखिमलाई मध्यनजर गरी कारोबारलाई व्यवस्थित बनाएर भौतिक दुरी कायम गरी सेवा प्रवाह गरिएको जानकारी दिएकी छन् । उनले अब वर्षा लागिसकेको हुँदा गाउँघरमा कामको टिपाटिप सुरु हुन थालेसँगै बैंक सहकारीमा सेवाग्राहीको भीड बढेको बताउँदै हप्तामा दुई दिन मात्र नभई बैंक तथा वित्तीय संघसंस्था खुल्ने अवधि बढाउनुपर्ने माग गरिन् ।

सदरमुकाम बेनीमा रहेका सबैजसो वित्तीय संस्थामा सर्वसाधारणको भीडभाड बढेसँगै बजारमा चहलपहल देखिएको छ । प्रायः सुनसान जस्तै बनेको बेनीबजारमा सर्वसाधारणको चहलपहल बढेसँगै सवारीसाधनको समेत चाप ह्वात्तै बढेको पाइएको छ ।

जिल्लामा कोरोना संक्रमितको दर बढ्दै गएपछि जेठ २४ गते सोमबार राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारीसँगै डिसिसिएमसीको वैठकले खाद्यान्न, तरकारी, डेरी, कृषि औजार, फलफुल र बिउबिजनका पसलहरु बिहान ५ बजेदखि १० बजेसम्म खुल्ने निर्णय गरेको हो ।

यसैगरी बैंक तथा वित्तीय संघसंस्था आइतबार र बुधबार बिहान १० बजेदेखि २ बजेसम्म मात्रै खुल्ने निर्णय गरेको थियो । सोहीअनुसार खाद्यान्नलगायत कृषिजन्य पसल तथा वित्तीय संघसंस्था खुलेका हुन् । जिल्लामा जारी निषेधाज्ञा र स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउनका लागि जोड दिइएको स्थानीय प्रशासनले जनाएको छ ।

Leave a Reply