रातको समयमा स्थानीय महिलालाई हातपात गर्दै अभद्र व्यवहार गरेको भन्दै संघिय ढल निकास तथा खानेपानी आयोजना म्याग्दीका प्रमुख रामप्रसाद यादव पक्राउ परेका छन् । काठेखोला गाउँपालिका वडा नं. ७ रेशका महिलासहितका स्थानीयलाई यादवले हातपात गरेको भन्दै कारवाहीका लागि निवेदन दिएपछि उनी पक्राउ परेका हुन् ।

आइतबार बेलुकी यादवले मदिरा सेवन गरेर सडकमा पहिरो तर्काउन लागेका स्थानीयलाई अभद्र व्यवहार गरेका थिए । झरीले सडक भत्केको र बाढी घरभित्र पस्न लागेपछि पन्छाउन लागेका महिला र पुरुष समेतलाई यादवले हातपात गरेको उजुरीमा उल्लेख छ ।

मदिराले मातेका यादवले सरकारी कर्मचारीलाई बाटो छेकेको भन्दै गालीगलौज पनि गरेका थिए । यादव र नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कर्मचारीसहित आइतबार रेश गएका थिए । अबेरसम्म बसेका उनीहरु फर्कदा जिरेदी भन्ने भत्केको सडक मर्मत गर्दै जोखिमा परेको घर जोगाउन बाढी नियन्त्रण गर्ने क्रममा भगडा भएको प्रहरी नायव उपरिक्षक इकवाल हवारीले बताए ।

‘स्थानीय महिलाले उजुरी दिनुभएको छ, दुवै पक्ष राखेर छलफल गरेपछि मिलापत्र हुन्छ’ हवारीले भने, ‘काम बिशेषले गएको र फर्कदा सामान्य झगडा भएको भन्ने कर्मचारी पक्षको कुरा छ ।’ स्थानीयले भने महिलामाथी अभद्र व्यवहार भएकोले प्रहरीमा उजुरी गरेको बताए ।

रातको १ बजेसम्म यादवले होहल्ला गर्ने र अपशब्द बोल्ने क्रम नरोकिएपछि उजुरी गर्न बाध्य भएको स्थानीय लाली कार्कीले बताइन् । यादव चढेको बा १ झ ९०२० नम्बरको सरकारी गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यादवले खानेपानी आयोजना अनुगमनका लागि गएको दाबी गरेका छन् । उनले सामान्य भनाभन भएको र धकेलाधकेल मात्रै भएको बताए ।

‘मेरो नियत उहाँहरुलाई हातपात गर्ने होइन, ढीला भयो, बाटो छाडिदिनोस् भन्दा झगडा सुरु भएको हो’ उनले भने, ‘झगडा बढेपछि गाडी छाडेर भागेको हुँ ।’ उनले गाडी छाडेर हिँडेपछि नगर खानेपानीको गाडीमा फर्कंदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटना साँझको भएपनि प्रहरी पुगेर नियन्त्रणमा लिंदा रातको १ बजेको थियो । स्थानीयले नगर खानेपानीका प्रबन्धक हिमाल शर्मा र प्रहरीको जिम्मा लगाएर सदरमुकाम पठाएको बताए । दुवै पक्ष आएपछि मात्रै मिलापत्र गराउन सकिने भन्दै प्रनाउ हवारीले सोमबार स्थानीय बासिन्दा नआएकोले छलफल गर्न नसकेको समेत बताए ।