म्याग्दी उद्योग वाणिज्य संघले कोरोना कहरका कारण व्यवसायी थलिएको बेला ब्यवसाय करमा सतप्रतिशत छुट दिन स्थानीय तहलाई अनुरोध गरेको छ ।

कोरोनाको पहिलो र दोस्रो लहरका कारण म्याग्दीका ब्यवसायी लयमा फर्किन नसकेको अवस्थामा स्थानीय तहले लिने कर छुट गरी ब्यवसायीलाई राहत दिन संघका अध्यक्ष बेलबहादुर कटुवालले अनुरोध गरेका छन्।

‘लकडाउनका कारण ब्यवसायी पलायन हुन थालेका छन्, ग्रामिण क्षेत्रमा रहेका ब्यवसायीको समस्या पनि उस्तै छ’ अध्यक्ष कटुवालले भने ।ब्यवसायनै धरापमा परेका कारण सहयोगको अपिल गरिएको उनको भनाई छ ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिरहँदा गत बैशाख महिनाको तेस्रो सातादेखि लकडाउन गरिएको छ भने गतबर्ष समेत लामो समयसम्म लकडाउन कारण ब्यवसायी समस्यामा परेकाले बार्षिक कर छुटका लागि अनुरोध गरिएको संघले जनाएको छ।

आन्तरिक राजश्व कार्यालयले समेत करमा छुट दिएको अवस्थामा स्थानीय तहलाई समेत आफ्ना क्षेत्रका ब्यवसायीको मर्का बुझिदिन संघले अनुरोध गरेको हो । स्थानीय तहमा रहेका इकाईले समेत ब्यवसायी कर छुटको माग गर्ने गरेका छन् ।