६८ वर्षअघि काठमाडौं धेरैका लागि नयाँ थियो । अहिलेको जस्तो यातायातका साधनहरू पर्याप्त थिएन भने सडक सञ्जालहरू विस्तार भएको थिएन । जसको कारण राजधानी काठमाडौं आउनलाई उपत्यका बाहिरका मानिसहरूलाई हम्मेहम्मे नै पथ्र्यो । अर्थात, धेरैलाई काठमाडौं जाने भनेको अर्काे मुलुक गए बराबर जस्तै हुन्थ्यो ।

यातायात र सडकको सहज पहँुंच नभएको बेला म्याग्दीको पातलेखेत गाउँका राधाकृष्ण शर्माले म्याग्दीबाट काठमाडौंको बाटो नापे त्यो पनि पैदलमार्फत । ६८ वर्षअघि ९ दिनको पैदलयात्रा गरेर काठमाडौं छिरेका शर्माले त्यो बेला सोचेका थिएनन् होला पछि मुलुकको विकास निर्माणमा व्यावसायिक रूपमा आफू लाग्छु भन्ने । तर, उनले सडकदेखि ठूला भवन र विभिन्न आयोजना बनाएर निर्माण क्षेत्रमा आफ्नो चिनारी राख्न सक्षम भए ।

गाउँमा शिक्षाका लागि राम्रो नभएकै कारण पारिवारिक सुखसयललाई भुलेर उनी करिब ९ दिनको पैदलयात्रा गरेर काठमाडौं आएको सम्झिन्छन् । विक्रम संवत् १९९३ सालमा जन्मिएका शर्मा थप अध्ययनका लागि काठमाडौंमा २००९ सालमा आएका थिए । अर्थात, अहिलेभन्दा ६८ वर्ष पहिले काठमाडौंमा आएका शर्माले निर्माण क्षेत्रमा कुनै बेला एक क्षत्र राजसमेत गरे ।

उनको पारिवारिक पृष्ठभूमि भने निर्माण क्षेत्रको होइन । तर, गाउँका साथीसंगीहरूको संगतको कारण निर्माण क्षेत्रमा होमिएका शर्मा अहिले एक अब्बल र उत्कृष्ट व्यवसायी भित्र पर्न सफल भएका छन् । उमेर ढल्किँदै गएसँगै विस्तारै आफ्नो जिम्मेवारी छोरा र नातिको काँधमा सुम्पिएर रिटार्यड लाइफमा रहेका शर्माले छोरा र नातिलाई आफ्नो अनुभव र सल्लाह सुझाव भने दिइरहेका छन् ।

गाउँको हुनेखाने मध्येकै भएकाले घरमा घोडासमेत पालेका थिए । सम्पन्न परिवारबाट काठमाडौंमा आएको भए पनि यहाँका लागि भने उनी नयाँ थिए । गाउँले परिवेशबाट हुर्किएको भएकाले केही नयाँ हुने भएकाले केही समय भने असहज महसुस समेत भएको उनी बताउंछन् ।

गाउँमा रहँदा बढी नै थकाली समुदायसँग घुलमिल भएको कारणले पनि उनका साथीहरू काठमाडौंमा पनि थकालीहरूसँग नजिक थिए । थकालीहरू त्यो बेलादेखिनै व्यापार व्यवसायमा अग्रसर थिए । थकालीहरूको संगतको कारणले उनको मनमा पनि जागिरभन्दा व्यापार व्यवसाय नै गर्नुपर्छ भन्ने सोच बनेको शर्मा बताउँछन् ।

पढ्न काठमाडौं आएको भए पनि यहाँको परिवेशले राजनीतिलाई छोएको थियो । विडम्बना भनौं राजनीतिमा सक्रिय भएर आफ्नो पकड जमाएको भए पनि उमेर कम भएको कारणले २०१५ सालको निर्वाचनमा उनले टिकट पाउन भने सकेनन् । ‘राजनीतिमा पनि इच्छा थियो, सक्रिय पनि थिए तर उमेरले गर्दा टिकट पाइएन,’ उनले भने ।

तर, उनले माइलो भाइलाई भने राजनीतिमा सक्रिय नै बनाइ राखेका थिए । २०१७ मा राजा महेन्द्रले प्रजातन्त्र माथि ‘कु’ गरेपछि भने शर्मालाई राजनीति प्रतिवितृष्णा लागेको बताउँछन् । राजनीति त्यागेर उनी २०१८ सालमा फेरि राजधानी काठमाडौंमा फर्किएर साथीहरूसँग मिलेर व्यापार व्यवसाय सुरु गरेका थिए ।

साथीहरूसँगको सहकार्यमा करिब २ वर्ष ल्हासा (टिवेट) सँग ट्रेडिङ बिजनेस गरेर व्यापार व्यवसायको सुरुवात गरेका शर्माले निर्माण क्षेत्रमा भने विक्रम संवत् २०१९ तिर थकाली सुब्बा एण्ड कम्पनीसँगको सहकार्यमा त्रिशूली हाइड्रोपावर कम्पनीसम्म पुग्ने सडक क्षेत्रमा केही समय काम गरेका थिए ।

तिब्बत तर्फको ट्रेडिङ बिजनेसको काम छोडेर ०१९ सालदेखि ०२१ सालसम्म थकाली सुब्बासँग आबद्ध भएका थिए । पार्टरसिपमा मात्र काम गर्दा पछि समस्या आउने भन्दै थकाली सुब्बासँग कै सहमतिमा उनले २०२२ बाट भने आफ्नै कम्पनी स्थापना गरेका हुन् ।

पहिलो ठेक्का हेटौंडाको औद्योगिक क्षेत्रमा

कम्पनी स्थापना भएपछि उनले पहिलो ठेक्का हेटांैडाको औद्योगिक क्षेत्रको थियो । उनी बस्दै आएका घरबेटीकै सहयोगमा उनले हेटांैडाको औद्योगिक क्षेत्रमा काम पाएका हुन् । औद्योगिक क्षेत्रभित्र रहेको पानी ट्यांक्की निर्माण नै शर्मा एण्ड कम्पनीले बनाएको हो । त्यो बेला उनले करिब ४०–५० हजारसम्मको ठेक्का पाएका थिए ।

औद्योगिक क्षेत्रमा काम गरेको देखेपछि उनको कम्पनीले बालाजु औद्योगिक क्षेत्रको समेत ठेक्का पाएका थिए । विभिन्न उकाली ओराली पार गर्दै उनको कामले भने विस्तारै उचाइ लिइरहेको थियो । त्यहाँ काम गरिरहँदा उनको चिनजान नेपाली सेनासँग भयो । त्यो बेला सेनाले आफ्नो निर्माणको काम नगर्ने भएकाले त्यहाँका अधिकांश ठेक्काहरू उनले गर्ने मौका पाए ।

करिब २०२४ सालदेखि ०३१ सालसम्म उनले बाहिरका कुनै काम नगरी नेपाली सेनाको मात्र काम गरेका थिए । उनको कम्पनीले लगनखेलको ब्यारेक, स्वयम्भूमा रहेको स्वयम्भू बारुदखाना भित्रका विभिन्न संरचनाहरू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सेनाको जहाज राख्ने ह्याङ्गर, पोखराको महेन्द्रपुलपारीको ब्यारेकलगायत नेपाली सेनाका कामहरू र सेना बाहिर पृथ्वीनारायण क्याम्पस, पोखराको नेपाल बैंक, राष्ट्र बैंकको भवन लगायतको निर्माण ग¥यो । एकपछि अर्काे आयोजना सफल हुँदै गएपछि उनको दायरा पनि बढ्दै गयो ।

यूएसएआईडीका अधिकांश परियोजना शर्मालाई

पोखराबाट उनको व्यावसायिक यात्रा फेरि चितवनतर्फ मोडियो । २०३२ सालदेखि ०४२ सालसम्म रामपुरको कृषि क्याम्पसका सबै पूर्वाधारहरू शर्माको कम्पनीले निर्माण ग¥यो । त्यहाँको सम्बन्धकै कारण यूएसएआईडी रामपुरमा गरेको सबै निर्माणको काम शर्मा एण्ड कम्पनीले नै पाएको थियो ।

त्यस्तै विश्व बैंकले पनि यूएसएआईडीको सहयोगमा कामहरूको गुणस्तर हेरेर लमजुङको सुन्दरबजारमा रहेको कृषि क्याम्पसको संरचना र रुपन्देही, पकलीहवाका संरचनाहरूसमेत शर्मा एण्ड कम्पनीलाई नै बनाउन दिएको थियो । त्योसँगै हेटौंडाको वन विज्ञान क्याम्पसको कामसहित सानोठिमी, भक्तपुरमा यूएसएआईडीका अधिकांश परियोजनाहरू शर्मा एण्ड कम्पनीले नै गरेको उनी बताउँछन् ।

०४२ सालसम्म आइपुग्दा शर्मा एण्ड कम्पनीले २० देखि ८० करोडका परियोजनाहरू गर्न सक्ने क्षमतामा पुगिसकेको थियो । त्यो बेलाको २० देखि २५ करोडको कम्पनी भनेको सबैभन्दा ठूलो मानिन्थ्यो । हालका ठूला अधिकांश निर्माण कम्पनीहरू २०३५ सालपछि मात्र स्थापना भएका हुन् ।

शर्मा एण्ड कम्पनीले एकपछि अर्काे काम पाउँदै अझ अनुभवी र सक्षम कम्पनी बनिरहँदा शर्माका एकमात्र छोरा रमेश भने अमेरिका जाने योजनामा थिए । तर, उनका बुबाले अमेरिका पठायो भने छोरा उतै हराउने र आफ्नो विराशत जोगाउन कोही हँुंदैन भन्ने सोच बनाएर फिलिपिन्समा थप अध्ययनका लागि पठाए ।

त्यो बेला नै फिलिपिन्समा अमेरिकन सिस्टममा पढाइ हुने भएकाले ०३८÷०३९ सालमा विदेश पढ्न पठाएका थिए । एमबीएको अध्ययन सकेर २०४२ सालमा नेपाल फर्किएका रमेशले २०४३ सालमा भने सरकारी जागिर खाए । कर्मचारी व्यवस्थापन कसरी गर्ने र कामको म्यानेज कसरी गर्ने भन्ने थप ज्ञान लिनका लागि उनलाई बुबाले सरकारी जागिर खान लगाए ।

सरकारी जागिरकै क्रममा उनले कृषि आयोजना सेवा केन्द्रबाट फुल स्कलरसीपमा पीएचडी गर्ने अवसर पाए पनि त्यसलाई त्यागेर व्यावसायिक जीवनमा फर्किए । उनले त्यहाँ करिब २ वर्ष काम गरेपछि फेरि आफ्नै कम्पनीमा फर्किए ।

२०४५ सालबाट छोरालाई निर्माण क्षेत्रमा

विदेशको अध्ययन र नेपालको सरकारी जागिरको अनुभव लिइसकेपछि बुबा राधाकृष्णले छोरा रमेशलाई निर्माण क्षेत्रको व्यावसायिक काममा आबद्ध गराए । जनआन्दोलन पछि बनेको तत्कालीन प्रजातान्त्रिक सरकारले आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भवनभन्दा जिल्ला–जिल्लामा यातायात पु¥याउने निर्माणदेखि खानेपानी आयोजनासमेत विस्तार गर्ने प्रस्ताव गरेसँगै निज रमेश शर्माले अबको निर्माण गतिविधिलाई केही परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथ बुबालाई विल्डिङ मात्र होइन अब सडक आयोजनाको पनि काम गर्नुपर्छ भनेर प्रस्ताव अघि सारे । त्यो बेलासम्म विल्डिङ निर्माणको काम मात्र गर्दै आएको थियो शर्मा एण्ड कम्पनी भवन निर्माणमा एक नम्बर भएर उभिएको थियो ।

शर्मा एण्ड कम्पनीले पहिलो पटक २०४८ सालमा दाङ जिल्लाको भालुवाङदेखि प्यूठान जाने सडकको पुलहरू निर्माण ग¥यो । त्यही सिलसिलामा बुटवलदेखि कोहलपुरसम्म विश्व बैंकको सहयोगमा मेन्टिनेन्स कन्ट्राक्टको एउटा हिस्साको जिम्मेवारीसमेत पायो । त्यहीँंबाट विस्तारै सडक, पुल निर्माणसँगै भवन निर्माणलाई जोड दिँदै गए ।

अब आफूले उमेर पनि सक्रिय हुन नसक्ने भएकाले सबै काम पहिलेदेखि नै छोराले गर्दै आइरहेको शर्मा बताउँछन् । स्वास्थ्यका कारण छोराको सहारामा क्यापिटलसँग कुरा गर्दै उनले निर्माण क्षेत्रमा आफ्नो कम्पनीले निरन्तर काम गरेको र मुलुकको विकासमा सहयोगी हुन पाएकोमा प्रफुल्ल भए । उमेर ढल्कँदै गएपछि राधाकृष्णले कम्पनीको जिम्मेवारीबाट पनि विस्तारै हट्दै गए । करिब ०५३ सालबाट कम्पनीको म्यानेजिङ डाइरेक्टरको जिम्मेवारी छोरा रमेशलाई दिएका राधाकृष्णले ०६५ सालदेखि भने अफिसमा जान छोडिसकेका छन् ।

अहिले पनि अध्यक्षको भूमिकामा रहे पनि उनले कम्पनीको कुनै जिम्मेवारी सम्हालेका छैनन् । तैपनि उनले बेला–बेलामा कम्पनीको विषयमा चासो र चिन्ता भने व्यक्त गर्दै आएको बताउँछन् । बुबाले अझै पनि कामको विषयमा चासो राखिरहनु हुन्छ, उनका छोरा रमेशले भने, नयाँ प्रविधि र चुनौतीको विषयमा उहाँले विशेष ध्यान दिँदै आउनुभएको छ ।

अधिकांश विल्डिङ निर्माणमा शर्माकै हात

काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा निर्माण भएका अधिकांश विल्डिङहरू शर्मा एण्ड कम्पनीले नै बनाएको हो । सिंहदरबार अघिको राष्ट्रिय वाणिज्य बैंक, सिटी सेन्टर, गुठी संस्थानको भवन, स्टारमल, सेन्टरपार्क, भैंसेपाटीमा रहेको मेडिसिटी अस्पताल, वीरअस्पतालको भवनदेखि महान्याधिवक्ताको कार्यालयसमेत शर्माकै वा शर्मासहितका कम्पनीहरूले बनाएका हुन् ।

सडक निर्माणको कथा

शर्मा एण्ड कम्पनीले अरनिको राजमार्गअन्तर्गतको भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक स्तरोन्नति र मर्मतको काम ग¥यो । उक्त सडक ०५६ सालमा स्तरोन्नति गरेको हो । २१ वर्ष भइसक्दा पनि सो क्षेत्रको सडक अझै राम्रो र मजबुत छ । यस्तै पूर्व–पश्चिम राजमार्गको अत्तरीयादेखि महेन्द्रनगरसम्मको ३६ किलोमिटर सडक निर्माण शर्माले नै निर्माण गरेको हो ।

सिलगुडीदेखि साँफेबगर, डडेलधुरा क्षेत्रमा बाटो र बैतडीदेखि चमेलियासम्मको पुल निर्माणसमेत ग¥यो । विकट क्षेत्रमा पनि शर्मा एण्ड कम्पनीले काम गरिरहेको शर्मा बताउँछन् ।

मदन भण्डारी राजमार्गअन्तर्गत चतरादेखि भिमानसम्मको १३५ किलोमिटर सडक शर्मा एण्ड कम्पनी र लामा कन्ट्रक्सनले संयुक्त रूपमा निर्माण गरेर अन्तिम चरणमा पुगेको छ । ७ अर्ब रुपैयाँ लागतको सो सडक निर्धारित समयभित्रै सकिनेमा कोरोना भाइरसको कारण केहीपछि धकेलिएको छ । यति ठूलो रकम लगानीको काम पनि नेपाली कम्पनीले निर्धारित समयमै गुणस्तरीय काम गर्न सक्छन् भन्ने उदाहरण स्थापित भएको छ ।

१० अर्बसम्मको प्रोजेक्ट नेपालीलाई दिनुपर्छ

अहिले नेपाली निर्माण कम्पनीहरू अर्बौं–अर्ब रुपैयाँको ठेक्का लिन सक्षम भइसक्दा समेत सार्वजनिक खरिद ऐनले भने १ अर्बभन्दा तलका आयोजना मात्र लिन पाउने नियम बनाएको छ । जसको कारण १ अर्बभन्दा ठूलो आयोजनाको काम लिनुप¥यो भने विदेशी कम्पनीको साथ लिनुपर्ने र अनावश्यक रूपमा विदेशमा कमिसन पठाउनुपर्ने प्रावधानका कारण देशबाट ठूलो धनराशी बिदेसिँदै आएको छ ।

उनका छोरा रमेशले भने, ‘त्यसका लागि नेपाली कम्पनीहरूलाई १० अर्बसम्मको सीमा दिन सक्यो भने मात्र यहाँका ठूला आयोजनाहरूको काम गुणस्तर हुन्छ र निर्धारित समयमै काम सम्पन्न हुन्छ,’ उनले भने ।

अबको लक्ष्य टनेल निर्माणको

शर्मा एण्ड कम्पनीलाई विल्डिङ सडक र पुल निर्माणका लागि उत्कृष्ट कम्पनीको रूपमा परिचित छ । हालसम्म यो कम्पनीले ट्रान्समिसन लाइन र टनेलको काम भने गरेको छैन । अबको युग भनेको टनेलको भएकाले शर्माको ध्यान त्यसतर्फ गएको छ । टनेल निर्माणका लागि आवश्यक उपकरणहरू ल्याएपछि सरकारले नेपाली कम्पनीहरूले नै काम पाउने वातावरण भने बनाइदिनु पर्ने उनी बताउँछन् ।

नाति पनि निर्माण क्षेत्रमै

राधाकृष्णको छोरा मात्र होइन अहिले उनको नाति सौरभ शर्मा समेत निर्माण क्षेत्रमै सक्रिय भएका छन् । आफ्नो बाजे र बुबाको विरासतलाई कायम नै राखी राख्न ०७६ सालमै अमेरिकामा सिभिल इन्जिनियरिङको अध्ययन सकाएर नेपालमा फर्किएका छन् । अहिले आफूले अमेरिकामा पढेको र बुझेको निर्माण क्षेत्रको नयाँ काम के गर्न सकिन्छ भने शर्मा एण्ड कम्पनीको योजना शाखामा रहेर नयाँ–नयाँ योजनाहरू ड्राफ्ट गर्दै आएका छन् ।

निर्माण व्यवसायीलाई हेर्ने समाजको दृष्टि नै फरक छ

निर्माण व्यवसायीहरूलाई ठेकेदारको उपनाम दिने र समाजमा नराम्रो दृष्टिले हेर्ने प्रचलन पहिलेदेखि नै थियो । ठेकेदार भनेको पैसाको रूख चाहिँ हो तर, यसलाई धेरै नजिक भने राख्न हुँदैन भनेर पञ्चायतकालदेखि अहिलेसम्म पनि विभेदकारी दृष्टिले हेर्ने गरिएको छ, जुन धेरै गलत भएको शर्मा बताउँछन् । केही व्यवसायीहरूको बदमासीको सिकार सिंगो व्यवसायीहरू भएका छन् ।

अझ पहिले–पहिले त ठेकेदार र तीनका छोराहरूलाई आफ्नो छोरीसमेत दिन मान्दैन थिए । तर, अहिले भने परिस्थिति केही फरक भएको छ । यसका लागि राज्य पक्षले व्यवसायीहरूलाई हेर्ने नजरमा सुधार ल्याउनुपर्छ भने व्यवसायीहरू भने सुध्रिदै जानुपर्ने छ । यही क्षेत्रको सुधारमा केही योगदान गर्न सकिन्छ कि भनेर २०४५ सालमा प्रजातन्त्रको पुनःउत्थान पनि नेपाल निर्माण व्यवसायी संघको स्थापना भयो । सो स्थापना गर्न ठूलो मिहेनत गर्न परेको राधाकृष्ण शर्मा सुनाउनु हुन्छ ।

उनी स्थापनाकालको नै उपाध्यक्ष हुनुहुन्छ । आफू केही समय संघमा सक्रिय रही छोरा रमेशलाई अघि बढ्ने प्रेरणा दिँदै आफू संघको सल्लाहकारमा बसी छोरालाई अगाडि बढाएको शर्मा बताउँछन् । यो क्षेत्रमा लाग्ने रमेश पहिलो दोस्रो पुस्ताको व्यवसायी भएको बताए । सो संघलाई २०५४ सालमा महासंघ बनाउन ठूलो पहल गरेको रमेशले बताए । आफ्नो कार्यकालमा निर्माण ऐन, वर्गीकरण ऐन आदि सरकारसँग समन्वय गरी बनाउन सफल भएको बताए ।

सामाजिक क्षेत्रमा पनि सक्रिय

व्यापारिक क्षेत्र मात्र होइन राधाकृष्ण शर्मा सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय पाइयो । आफू जन्मेको म्याग्दी जिल्लामा शिक्षाको विकासका लागि विभिन्न स्कुलदेखि जिल्लामा रहेको एकमात्र क्याम्पस खोल्नमा उनको योगदान छ । जिल्लाको ‘म्याग्दी क्याम्पस’ को स्थापनामा उनले आर्थिक सहयोग गरेकै कारण क्याम्पसको पुस्तकालय भवन उनकै नाममा छ ।

त्यस्तै काठमाडौंमा सार्वजनिक स्कुल ‘ज्ञानोदय माध्यमिक विद्यालय’ को २५ वर्ष भन्दा बढी अध्यक्षको जिम्मेवारी लिई सो स्कुललाई देशको अब्बल सरकारी स्कुल बनाएका थिए । साथै देवघाट, चितवनमा संस्कृत भाषाको उत्थानका लागि विभिन्न गुरुकुल स्कुल स्थापनामा समेत योगदान गरेका थिए । उनले समाजसेवा र शिक्षाको विकासमा पु¥याएको योगदानलाई कदर गर्दै थुप्रै प्रशंसापत्र र सम्मान पाएका छन् । Source: capitalnepal.com