म्याग्दीको मंगला गाउँपालिका–३, बरंजाका तेजेन्द्र रोका मगरले एनआरएनए युकेको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । एनआरएन युकेको आगामी कार्यसमितिका लागि हुने निर्वाचनमा वर्तमान कोषाध्यक्ष तेजेन्द्र रोका मगरले उपाध्यक्ष पदमा उम्मेद्वारी दिदैं एनआरएनएकर्मीलाई सहयोगको अपिल समेत गरेका छन् । एनआरएनए यूकेमा आर्थिक अनुशासनको जग बसाएका कोषाध्यक्ष रोका पेशाले सिभिल ईन्जिनियर हुन् ।

एनआरएनएको सफल कोषाध्यक्षको रुपमा स्थापित भएका रोकाले संस्थागत आर्थिक व्यवस्थापनमा पारदर्शिता र मितव्ययिता अपनाउन महत्वपूर्ण कदम चालेका थिए ।मोना युकेका सल्लाहकार र मगर संघ युकेका आजिवन सदस्य रहेका रोकामगर हाल बेलायतको जोसेफ गालाघर लिमिटेडमा सिनियर साइट इन्जिनियरका रुपमा कार्यरत छन् ।

बीई र एमईमा डिस्टिङसन ल्याएका रोका मगरले बेलायतमा नेपाल इन्जिनियर्स एसोसिएसनको शाखा स्थापना गरेका छन् भने गृह जिल्ला म्याग्दीमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत सहयोग गरेका छन् ।

रोकाले बेनपा ३ भकिम्लीमा रहेको जयन्ती माविको २० कोठे भवनको नक्सा सहित आवश्यक प्राविधिक सहयोग गरेका थिए भने लमजुङ, बाग्लुङ, गोरखा, सोलुखुम्बु, धादिङ, दोलखा,सोलुखुम्बु लगायतका जिल्लाहरुमा लघु जलबिद्युत स्थापना गरिसकेका छन् ।

टिडी इनर्जी एण्ड मल्टीकन्सन्ट्रक्सन नेपालको संचालक रहेका रोका २५ मेघावाटको दरबाङ हाइड्रोको संचालक, कलेज फर इन्फरमेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङको संचालक र लामा आर्टिटेक्ट एण्ड डिजाइनको पनि संचालक हुन् ।

बेलायतमा रहेका नेपाली समुदायको हकहित र अधिकारका लागि एनआरएनए युकेलाई नेपाली समुदायको एकता र सामूहिक आवाज मुखरित गर्ने थलो बनाउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको उनले बताए ।

‘अहिलेसम्म प्राप्त गरेको अनुभवले मैले एनआरएको आन्दोलनमा थप सक्रियता हुनुपर्छ,‘मैले गरेको कामको मुल्याङ्कन हुनेछ’ रोका मगरले बेनीअनलाइनलाई भने ।

एनआरएनए युकेलाई नयाँ गति र दिशा दिन तथा नेपाली समुदायको एकता र सामूहिक आवाज बनाउने उनले बताए । रोका मगरले ७ बुँदे प्रतिबद्धता तथा अभियान समेत सार्वजनिक गरेका छन् ।

नेपाली समुदायमा एकता र सामूहिक आवाज बनाउने, एनआरएनए युकेलाई सबैको साझा संस्थाको रुपमा अनुभूति दिलाउने, संस्थागत शुद्धीकरण, समुदायमा एकीकरणमा जोड दिने, गोर्खाहरुको समस्यालाई एनआरएनए युकेको पहिलो प्राथमिकतामा राखी गोर्खासित आवद्ध संस्थाहरुसंग मिली काम गर्ने, एनआरएनए युकेको दुरगामी योजना स्थापना गर्ने, विदेशमा नेपाली भाषा,संस्कृती र पहिचान फैलाउने लगायत रहेका छन् ।