कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ । चार पटक थप भएको निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी छ । निषेधाज्ञाका कारण जिल्लाका पर्यटकीय स्थल यतिबेला सुनसान छ । भीडभाड रहने पर्यटकीय स्थलमा यतिबेला पर्यटक छैनन् ।

तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रुखमाथि बनेको घरले भने सर्वसाधारण आकर्षित गरेको छ । निषेधाज्ञाकै बीचमा पनि सर्वसाधारण यस स्थानमा पुगिरहेका छन् । दैनिक १५–२० सर्वसाधारण यस ठाउँमा पुगिरहेका छन् ।

रुखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । डिभिजन वन कार्यालय तनहुँको आर्थिक सहयोगमा सामुदायिक वनमा हरियाली उद्यानसहित रुखमाथि घर बनाईको छ । गत फागुनदेखि निर्माण शुरु भएकामा घर निर्माण सकिएपनि उद्यानको काम भने पूरा नसकिएको सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । “जिल्लामै नयाँ भएकाले यस ठाउँ सर्वसाधारणको गन्तव्यको रुपमा विकास भइरहेको छ,” उहाँले भन्नुभयो ।

उद्यान निर्माणका लागि वन कार्यालयले रु १२ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । त्यसमा सामुदायिक वनले २० प्रतिशत अर्थात् रु दुई लाख ५० हजार लागत सहभागिता बेहोरेको छ । कूल १५ लाखको लागतमा उद्यान निर्माणको काम गरिएको हो ।

पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीय स्थल बनाउने उद्देश्य बमोजिम उद्यानका साथै रुखमा घर बनाइएको हो । “उक्त ठाउँलाई पर्यटककको आकर्षणको केन्द्र बनाउन उक्त योजना अगाडी सारेका हौ,” उहाँले भन्नुभयो, “रुखमा नै घर तनहुँ जिल्लामै पहिलो भएकाले यसले सर्वसाधारणको ध्यान खिच्नेछ ।”

रुखलाई भित्र पारेर काठको घर निर्माण गरिएको छ । “दुई स्टेप बस्न मिल्ने गरी घर निर्माण गरिएको छ, पाँच÷सात जना चढेर त्यहाँबाट दृश्यावलोकन गर्न मिल्नेछ,” उहाँले भन्नुभयो । उक्त ठाउँलाई वनभोजस्थलको रुपमा विकास गर्ने योजना छ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाउने विश्वास गरिएको छ ।

डिभिजन वन कार्यालय तनहुँमार्फत् गत आर्थिक वर्षमा जिल्लाका तीन ठाउँमा उद्यान निर्माण गरिएको थियो । भीमाद नगरपालिका–१ किहुँस्थित शिवशक्ति सामुदायिक वन, शुक्लागण्डकी नगरपालिकास्थित च्वयनधाम र व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराहमा पर्यापर्यटन उद्यानका लागि वन कार्यालयले आर्थिक सहयोग गरेको थियो ।

विज्ञापन