आगामी असार ७ गतेसम्म म्याग्दीका बैक तथा वित्तिय संस्था विहानको समयमा खुल्ने भएका छन् । सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले विहान ८ बजेदेखि १२ बजेसम्म खोल्ने निर्णय भएको हो ।

म्याग्दीमा जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाने रणनीति अपनाइएसँगै वित्तिय संस्थाले जनस्वास्थ्यको मापदण्डको अनिवार्य पालना गर्न समेत निर्देशन दिइएको छ ।

दिउँसो लामो समयसम्म वित्तिय संस्था खोल्दा भिडभाड हुने भएकाले विहानको समयलाई रोजिएको डिसिसिएमसीले जनाएको छ । यो अवधि बाहेक वित्तिय संस्थालाई कारोबार नगर्न समेत प्रशासनले निर्देशन दिएको छ ।

वित्तिय संस्थालाई जमघट र घरदैलोमा जान रोक लगाइएको छ भने सकेसम्म अनलाइन सेवाको प्रयोग गरी वित्तिय संस्थासम्म भिडभाड नगर्न समेत सर्वसाधारणलाई अनुरोध गरिएको प्रजिअ गणेशबहादुर अधिकारीले बताउनुभयो ।

त्यस्तै हार्डवयर पसल र विद्यालयका पुस्तक ढुवानी र बिक्रीका लागि पुस्तक पसल विहान ५ बजेदेखि ११ बजेसम्म खुलाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नयां शैक्षिक सत्र नजिकिए पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो विद्यालयले गर्न थालेपछि पुस्तक ढुवानीलाई समेत सहज हुने गरी पुस्तक पसललाई खोल्न दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। योसँगै कोरोनाको दोस्रो लहरदेखिएसँगै म्याग्दीमा पाँचौ पटक लकडाउन थपिएको छ ।

विज्ञापन