हाल देशभर मनसुन सक्रिय रहेको छ भने केही स्थानमा भारी वर्षाको सम्भावना छ । मुलुकभर मौसममा सामान्यदेखि पूर्ण बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

प्रदेश नं २ को थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा भईरहेको जनाइएको छ । आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाको भनाइ छ । देशका धेरै स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने महाशाखाको भनाइ छ ।अहिले कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भइरहेकाे जनाइएकाे छ ।

यससँगै ती स्थानमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ र नदीतटीय क्षेत्रका बासिन्दालाइ सजग रहन भनिएकाे छ । यसैगरी बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही अन्य स्थानहरुमा पनि भारी वर्षाको सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply