संसद् विघटन, पुनःस्थापनाको मामलाका सन्दर्भमा अहिले मुलुकका शक्तिहरू देखिने गरी दुईतिर विभक्त भएका छन्। एकातिर सत्तारुट दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) छ, भने अर्कोतिर त्यही पार्टीको अर्को गुट, नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत छन्। एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सत्ता टिकाउन बल गरिरहेका छन्, भने अर्को पक्ष वा विपक्षी गठबन्धन सत्ता खोस्न लागिरहेका छन्।

यही सत्ता बचाउने र खोस्ने खेलमा राष्ट्रपति विद्यादेवी भण्डारी बीचमा मुछिएकी छन्। एउटा पक्ष राष्ट्रपतिको कदम बचाउमा लागिरहेको छ, अर्को पक्ष राष्ट्रपतिको कदमको खरो आलोचना गरिरहेको छ। राष्ट्रपतिको कदमलाई बीचमा नल्याउनका लागि प्रधानमन्त्री अ‍ोलीले पटकपटक घुक्र्याए पनि, सम्झाए पनि यो क्रम टुटेको छैन।

अहिले राजनीतिक ध्रुवीकरण बढिरहेको छ। मुलक राजनीतिक भुँमरीमा फसिरहेको छ। वास्तवमा मुलुक रोइरहेको छ। यो रुवाइको मुख्य कारण अरु नभएर राजनीतिक कारण नै भएको प्रष्ट छ। मुलुकमा कोराना महामारी जस्तो विषय परिस्थितिमा पनि राजनीतिक दाउपेजमा अल्झिए राजनीतिक दल।

सत्तामा पुग्न जे गर्न पनि, जसो गर्न पनि पछि नपर्नेहरुकै कदमले मुलुक दिनानुदिन भड्खालोमा पर्दै गइरहेको राजनीतिक विश्लेषकहरु बताउँछन्।  राजनीतिक विश्लेषकहरुका अनुसार दुबै पक्षलाई दोषी देखे पनि उनीहरु दोष एकले अर्कालाई चोर औंला देखाउनमै आफ्नो दिनचर्या बिताइरहेका छन्।

दुई साताअघिबाट सुरु भएको मेलम्ची–हेलम्बु कहर सकिएकोछैन, तीन  महिनादेखि जारी निषेधाज्ञा र कोरोना संक्रमणको शृङ्खला तोडिएको छैन। मुलुकमा विपद्को गाँठो परिरहेको छ। भर्खर मनसुन सरु भएकोले तराई  र पहाडी क्षेत्रमा बाढी–पहिरोको जोखिम झन बढेको छ। जारी निषेधाज्ञाकाबीच पनि कोरोना संक्रमणको जोखिममा खासै कमी आउन सक्ने स्थिति सिर्जना भएको छैन। महामारी जारी नै छ। तर जनताले भोगिरहेको महामारीको चासो नगरी राजनीतिक दलका नेताहरु भने आफूलाई परेको महामारीको मात्र चिन्तामा छन्। यो बेला राष्ट्रपतिको चिन्ताभन्दा बढी राष्ट्र हितको चिन्तामा लागेर देशलाई बचाउनु पर्ने नेताहरु चार दिशातिर फर्केर तमाशा देखाई रहेका छन्, नाटक, नौटंकी प्रदर्शनी गरिरहेका छन्।

जनताप्रतिको आफ्नो दायित्व, जनताले आफूमाथि गरेको विश्वासलाई उनीहरुले मात्र सत्ता स्वार्थका लागि प्रयोग गरिरहेका छन्। यो बेला जनताले साथ खोजिरहेको समय हो। यो समयमा पनि उनीहरु जनताप्रति कृतघ्न बनिरहेका छन्। राष्ट्रपतिजस्तो आलंकारिक व्यक्तिलाई अघि सारेर उनीहरु देशको जरुरीलाई बिर्सिरहेका छन्।सत्ताको लागि जस्तै सम्झौता गर्न पछि नपर्ने स्वभाव, चरित्र र प्रवृत्तिलाई दैनिकी बनाएका नेताहरुले जनतालाई भुलभुलैयामा राखिरहेका छन्। जनता खोप मागिरहेका छन्, भोकमा भोजन खोजिरहेका छन्, विपदमा उद्दार र राहत, पुनस्र्थापना खोजिरहेका छन्। लागेको घाउमा मल्हम मागिरहेका छन्। तर,नेताको पगरी गुथेका, सत्ताको आशे नेताहरु भने षड्यन्त्र गरी भए पनि सत्ता बचाउने र सत्तामा रमाउने सोच पूरा गर्ने दिशातर्फ उन्मुख छन्। उनीहरुले एकले अर्कालाई धोका नदिने सार्वजनिक गरे पनि उनीहरुले जनतालाई पटकपटक धोका दिएका छन्, धोका दिएनन् त उनीहरुले आफ्ना कार्यकर्तालाई।विचार, सिद्धान्तको राजनीतिभन्दा पद, पैसा, अवसरको राजनीति गर्ने विचारबाट मार्गनिर्देशित उनीहरुबाट देशलाई केन्द्रमा राखी काम गर्छ भन्ने अपेक्षा राख्नु पनि त्यति हितकर नहोला। यसैले अब विकल्प के हुन सक्छ? यसबारे सोच्ने कि?

Leave a Reply