नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका बालबालिकालाई अनलाइन कक्षाका लागि स्मार्ट फोन सहयोग गरिएको छ । कोरानाको दोस्रो लहरसँगै भौतिक रुपमा विद्यालयमै उपस्थित भएर पढ्न नपाएका बालबालिकाको अनलाइन कक्षा प्रभावकारी बनाउन स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले स्मार्ट फोन सहयोग गरेका हुन् ।

विभिन्न क्रियाकलापमार्फत कक्षाअनुसारको सिकाइ गरी व्यस्त रहेका बालबालिकाको अनलाइन कक्षालाई थप ब्यवस्थित बनाउन १५ हजार ५ सय मुल्य बराबरको स्मार्ट फोन हरेक विद्यार्थीलाई उपलब्ध गराउने नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बताए । उनले सबै विद्यार्थीलाई तत्काल ल्यापटप र कम्प्युटरको ब्यवस्थापन गर्न कठिनाइ भएपछि स्मार्ट फोनबाटै कक्षा सञ्चालनको वातावरण बनाइएको बताए ।

‘अनलाइन कक्षा अवधिभर सबै विद्यार्थीको हातमा स्मार्ट फोन हुन्छ,‘प्रविधिसँग विद्यार्थीलाई जोड्ने गरी थप योजना समेत बनाएका छौ’ अध्यक्ष शाक्यले भने। उनका अनुसार बालगृहमा रहेका सबै १२ जना बालबालिकालाई स्मार्ट फोन सहयोग स्वरुप प्राप्त भइसकेको बताए । बालगृहमा गुणस्तरीय इन्टरनेटको सुविधा रहेको छ । स्मार्ट फोनको सुविधाले विद्यार्थीहरूलाई हौसला पनि थपेको छ ।

भविस्यमा जिल्ला बाहिर रहेका विद्यालयहरूसँग समेत आवश्यक सहकार्य गरी शैक्षिक क्षमता बढाउने अभ्यासका लागि समेत आवश्यक पहल भइरहेको बालगृहले जनाएको छ ।

बालगृहमा अध्ययनरत बालबालिकालाई अनलाइन कक्षा बाहेक अतिरिक्त क्रियाकलापका लागि समेत कार्ययोजना बनाइएको सचिव सन्दिप खत्रीले बताए । उनले अनलाइन कक्षामार्फत पठनपाठनका लागि विहान, दिउँसो र बेलुकी कार्यतालिका लागु गरिएको छ । बालगृहमा अभिभावक विहिन १२ जना आश्रित बालबालिका रहेकोमा निकट भविस्यमा क्षमता विस्तार गरी दोब्बरको संख्यामा बालबालिकालाई राख्ने गरी गुरू योजना समेत बनाइएको छ ।

Leave a Reply