प्रवासी म्याग्देलीले घर बनाइदिएपछि अन्नपूर्णका पहिरो पिडित उत्साहित

0
154

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पहिरो पिडितहरुको लागि निर्माण गरेका घर शनिबार हस्तान्तरण गरिएको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएका अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ फगामका चार परिवारका लागि मोनाले बनाएको घर शनिबार पोखरेबगरमा हस्तान्तरण गरिएको हो ।

प्रतिघर पाँच÷पाँच लाख रुपैयाँ खर्चेर मोनाले फगामका मंगली पुर्जा, दिर्घबहादुर थापा, लालबहादुर गर्बुजा र रमेश बुढाथोकीको परिवारका लागि तीन कोठे घर र एक एक वटा शौचालय बनाइदिएको थियो ।

मोनाका अध्यक्ष ओमनारायण जुग्जाली, पहिरो पिडितको घर पुननिर्माण कार्यदलका सदस्य दल शेरपुजा, सुबोध बरुवाल लगायतको टोलीले गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा, वडा अध्यक्ष नरसिंह पुर्जा र राजनीतिक दलका प्रतिनिधीको रोहबरमा घर हस्तान्तरण गर्नुभएको थियो ।

मोनाले धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चार चार वटा पहिरो पिडितको घर निर्माण गरेको छ । विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुले चन्दा संकलन गरेर दुई करोड रुपैयाँको लागतमा घर पुननिर्माण गरेका हुन् ।

Leave a Reply