सिरमा कालो रङको टोपी । ज्यानमा हल्का रातो अनि लामो बाहुला भएको टिर्सट । कालो ज्याकेट, कालै छ पाइन्ट। कपाल फुलिसक्यो, दाँत झरिसके । गाला पनि चाउरी परिसक्यो । उमेरले नेटो काट्यो तर जाँगर अझ उस्तै छ । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–३, मुनाका ७१ वर्षीय हर्कबहादुर पुनसँग काठे कामको सिप छ ।

उहाँले काठको सहयोगमा बन्ने हलोजुवा, डाँडो, अनौ जस्ता खेतीबाली लगाउँदा चाहिने विभिन्न घरेलु सिप तथा परम्परागत प्रविधिमा आधारित रहेर बनाइने काठे सामानहरु बनाउनुहुन्छ । चारजना दाजुभाई र एक बहिनीमध्ये उहाँले आफू सानो छँदा बुवालाई गुमाउनुप¥यो । उहाँसँग अहिले पनि दाम्लो, नाम्लो, जोतारा, नेती बाट्ने सिप छ ।

दुईभाइ छोरा र एक छोरीका धनी पुनले अर्काले बनाएको हेरेर दैनिक जीवनमा प्रयोग हुने सामान बनाउन सिकेको बताउनुभयो । सानैमा गोठ बसेर गाईभैंसीको रेखदेख गनुभएका उहाँले बैंसालु उमेरमा ४०÷५० वटासम्म भेडाबाख्रा र १३÷१४ वटा गाईगोरु पालेको बताउनुहुन्छ । पुनले हरेक वर्ष वनजङ्गलको बीच खर्कमा जेठ महिनामा गाईगोरु गोठ लिएर जाने र भदौ लागेपछि गोठबाट फर्किने गरेको ती पुराना दिनहरु सम्झनुभयो ।

सानै उमेरदेखि गोठमा बस्ने गाईगोरु पाल्ने र तिनैलाई घाँसपानी खुवाएर दिन कटाउनुभएका उहाँले युवा अवस्थामा लाहुरे हुने, विदेश जाने र जागिर खाने सपना देख्नुभएन ।

बरु गोठमै बस्ने गाईगोरुलाई घाँसपात, कुँडोफाँडो दिने, गाउँमै खेती–किसानी गर्ने, भकारो सोहोर्ने र मल फाल्न मन लाग्यो उहाँलाई । आफू सानै हुँदा बुवा बितेपछि आमा पनि बितेकाले आफूले धेरै नै दुःख पाएको उहाँको गुनासो आफैसँग छ । अहिले घरमा गोठभित्र एउटा गाई र एकहल गोरु मात्रै छन् ।

घरमा गरिदिने कोही नभएपछि आफूले लाहुरे हुने, विदेश जाने र जागिर खान नपाएको दुःखेसो उहाँले पोख्नुभयो । २०४० सालमा लुलाङको खोरियाबाट विवाह गर्नुभएका उहाँले युवावस्थामा साथीभाइसँग गीत गाउन जाने क्रममा गीत गाउँदा गाउँदै केटी भगाएको खुलासा गर्नुभयो ।

साथीसँग छेउमा बसेर गीत छोप्दै गर्दा सोही क्रममा गीत गाउने केटीसँग विवाह गरेको उहाँको भनाइ छ । गोठ बस्दा गीत गाउन जाने गरेको हुँदा गीत गाउने केटी असाध्यै मन परेपछि आफूले भगाएको उहाँले बताउनुभयो ।
ज्येष्ठनागरिक समेत रहेनुभएका मुनाका सिपालु पुनले घरको गाह्रो समेत लगाउनुहुन्छ ।

उहाँले ढुङ्गा र खरले घरको छाना छाउने सिप पनि भएको बताउँदै मुना गाउँ, दरगाउँ तथा अन्य छिमेकमा घर छाउन जाने गरेको जानकारी दिनुभयो । घरको गाह्रो लगाएको दैनिक ज्याला अहिले सातसय रुपैयाँ पाइन्छ ।

पहिले–पहिले ढुङ्गा र खरले घरको छाना छाउने गरे पनि आजभोली भने बजारबाट टिन लगेर गाउँमा छाना छाउने गरेको उहाँलाई पटक्कै मन परेको छैन । गाउँघरमा टिन लगेर घर छाउनुका साथै पछिल्लो समय गोरुले खेतबारी जोत्नुको साटो ट्याक्टरले बाली लगाउने चलन आएको छ । ट्याक्टरले गर्दा मान्छेहरुले गाईगोरु र भैंसी पाल्न छाडे, अब मलजल हुँदैन त्यसैले गर्दा उत्पादन घट्ने उहाँको चिन्ता छ ।

Leave a Reply