म्याग्दीमा चालु आर्थिक वर्ष २०७७÷७८ मा कुल सात करोड ९१ लाख रुपैयाँको लागतमा कृषिसम्बन्धी विभिन्न योजना तथा कार्यक्रमहरु सञ्चालन भएको छ । गण्डकी प्रदेश सरकार तथा सङ्घीय सरकारको आर्थिक सहयोगमा कृषि ज्ञान केन्द्र म्याग्दीमार्फत कृषकहरुलाई लक्षित गरेर कार्यक्रमहरु सञ्चालन गरिएको हो ।File photo

चालु वर्षमा गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा म्याग्दी जिल्लामा कुल पाँच करोड ६२ लाख रुपैयाँ र सङ्घीय सरकारको दुई करोड २९ लाख रुपैयाँको लगानीमा कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा सबैभन्दा धेरै एक करोड १० लाख रुपैयाँको लागतमा साना सिचाइँ कार्यक्रम सञ्चालन गरिएको छ ।

यसैगरी ५१ लाख रुपैयाँको लागतमा साना व्यवसायी फार्म स्थापना, आलु खेती प्रोत्साहन कार्यक्रमतर्फ ३५ लाख, ग्रामीण क्षेत्रमा घर बगैंचा स्थापना गर्न १९ लाख, मकै भटमास खेती प्रवद्र्धन र कलष्टरमा रैथाने बाली संरक्षणमा १५÷१५ लाख रुपैयाँको बजेटमा कार्यक्रम सञ्चालन भैरहेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताउनुभयो । त्यस्तै क्षेत्रफलको आधारमा प्रोत्साहन कार्यक्रमतर्फ १० लाख तथा कृषि यान्त्रीकरण सहयोगका लागि नौलाख रुपैयाँ बजेट रहेको छ ।

सङ्घीय सरकारको सहयोगमा म्याग्दी जिल्लाका छ वटै पालिकामा २५ लाख रुपैयाँका दरले एक करोड ५० लाखको ब्लक विकास कार्यक्रम पनि सञ्चालित छ ।

प्राङ्गारिक खेती विस्तार गर्नका लागि प्लाष्टिक घर निर्माणतर्फ ३२ लाख, खुला जमिनमा प्राङ्गारिक खेतीलाई ३० लाख, कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र स्थापना गर्न २७ लाख, बाँझो जमिनमा खेती प्रोत्साहनमा नौलाख ७५ हजार तथा कृषि बाली बिमा गर्न दुईलाख रुपैयाँ बजेट रहेको कृषि प्रसार अधिकृत पाण्डेले जानकारी दिनुभयो ।

कृषि उत्पादन बढाउनका लागि भकारो सुधार तथा टनेलमा तरकारी खेती कार्यक्रम समेत सञ्चालनमा रहेको जनाइएको छ । हालसम्म कुल बजेटको ५० प्रतिशत खर्च भैसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

ज्ञान केन्द्रले कृषकहरुलाई लक्षित गरेर समय समयमा कृषिसम्बन्धी विभिन्न विषयहरुमा तालिम, गोष्ठी, सेमिनार सञ्चालन गर्नुका साथै कृषकलाई बिऊमल र कृषि औजारका सामग्रीहरु सहयोग गर्दै आइरहेका छ । प्रदेश र सङ्घीय सरकारले उपलब्ध गराएको अनुदान तथा कार्यक्रमको सहयोग लिएर कृषकहरुले टनेलमा विभिन्न किसिमका तरकारी लगाएका छन् ।

यस्तै कृषि ज्ञान केन्द्रको सहयोगमा भकारो सुधार, नर्सरी स्थापना गरी फलफुल र जडिबुटीका बिरुवाहरु उत्पादनसहित कृषि उपजको वृद्धि गरी बजारीकरणतर्फ कृषकहरु आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्रबाट प्राप्त सहयोगमा नर्सरी स्थापना गरी पुष्प खेती, जडिबुटी र फलफुलका विरुवाहरु उत्पादन सुरु गरिएको मालिका गाउँपालिका–६, दरबाङका सीता गुरुङले बताउनुभयो ।

चालु वर्षमा कृषि ज्ञान केन्द्रमार्फत सञ्चालित कृषिका विभिन्न कार्यक्रमहरुबाट जिल्लाका झण्डै २ हजार जना कृषकहरु लाभान्वित बनेका छन् । कृषि क्षेत्रमा विदेशबाट फर्किएका तथा स्वदेशमा केही पनि काम पाइएन भन्ने युवाहरु संलग्न छन् । कृषि उत्पादकत्व बढाउन, युवा कृषकहरुको काम तथा कार्यालयबाट सञ्चालित योजनाहरुलाई प्रभावकारी बनाउन अनुगमनको कार्यलाई जोड दिनुपर्ने आवश्यकता देखिन्छ ।

विज्ञापन