गएको जेठ महिनामा विवाह बन्धनमा बाँधिएका मालिका गाउँपालिका-६, रातोढुंगाका गजिन रोका र बिना रोकाले छिमेकी मंगला गापा-५, छिस्वाङमा ब्यवसाय गरेका थिए । झोलुङ्ग पुल नजिकै भएकाले ब्यवसाय पनि राम्रै चलेको थियो ।

मंगलबार मध्यरातमा पसल नजिकै रहेको खहरे खोलामा उर्लिएर आएको बाढीले सुतिरहेको अवस्थामै २२ बर्षिय रोका र श्रीमति २० बर्षिय रोकालाई बगायो। बर्खाको समयमा आफ्नै लयमा बग्ने खहरे खोलाले ज्यानै लैजाला भन्ने कसैले कल्पना नै गरेका थिएनन् । खहरेमा एक्कासी डरलाग्दो आवाज निकालेर गड्गडाउँदै छेउछाउ कटान गर्न थालेपछि दलमति पुनसँगै आसपासबाट धेरैले भागेर ज्यान जोगाएपनि भाग्दाभाग्दै गजिन र बिना बाढीमै पुरिए । ‘रोका दम्पत्तीको हातमा चप्पल थियो, ज्यान जोगाउने प्रयास गरेको देखिन्छ’ घटनास्थलबाट मंगला गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले भनिन्।

बाढीले पुरिएको अवस्थामा इलाका प्रहरी कार्यालय दरबाङबाट आएको टोलीसँगै स्थानीयले दुवैको शव निकाल्ने क्रममा हातमा चप्पल भेटिएकाले ज्यान जोगाउन अन्तिमसम्म प्रयास गरेको देखिन्छ । खहरेमा बेपत्ता भएको खवरले परिवार र आफन्त भावबिव्हल भएका छन ।

‘यसपटक नपत्याउँने खहरे खोलाले बगायो,‘अब आसपासका क्षेत्र सधै जोखिममा परेको छ’ भागेर ज्यान जोगाउन सफल भएकी दलमति पुनले भनिन् । उनले बस्ती माथिको सिर्कुम र बोबाङको सिमाना हुदै बग्ने साना–साना खोल्सासमेत मिसिदा ठूलो रुप लिन पुगेको बताइन् ।

‘खहरेले दायाँबायाँ लछार्दै लगेको छ,‘अब यहाँ संरक्षण नगरे थप जोखिम हुन्छ’ अर्का स्थानीय तुलबहादुर पुनले भने ।उनले भागेर ज्यान जोगाउन सफल भएका बताए । ‘मस्त निद्रामा थिएँ, बाहिर बाढी आएको हल्ला सुनेर ब्यूँझिए, समयमै भाग्नेहरू जोगिए’ उनले भने ।

यता गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले मानवीय र भौतिक क्षति भएको बताए । ‘खहरेखोलामा आउने बाढीको पूर्वसूचना प्रणालीको जडान गर्नुपर्ने आवश्यकता देखियो,‘हरेक बर्ष खहरेले सताउने गरेको छ’ अध्यक्ष रोकाले भने ।

खहरे आसपासमा खस्ने पहिरोका कारण गतबर्ष समेत खोला थुनिएको थियो। माथिल्लो क्षेत्रबाट बाढीको सूचनाको अभावले तल अन्तिममा ज्यान जोखिममा राखेर भाग्नु परेको बताए । खहरे र ठुला नदीकोे उच्च जोखिममा रहेको म्याग्दीमा हालसम्म पूर्व सूचना दिने प्रणाली भने प्रभावकारी छैन् ।

सदरमुकाम बेनीसँगै जिल्लाका अधिकांस बस्तीहरू बाढीपहिरोका चपेटामा भएपनि भरपर्दो सूचनाको अभावका कारण बर्षेनी मानवीय तथा भौतिक क्षती हुने गरेको छ । यसबर्ष असार १ गते नै प्राकृत्तिक विपत्तीले भौतिक रुपमा ठूलो नोक्सानी र २ जनाको ज्यान गएको छ ।

Leave a Reply