पर्वतको कुश्मा नगरपालिका– ८ को सुन्दरेखोलामा आएको बाढीले क्षत्विक्षत बनाएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन भएको छ । केहीबेरअघिदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
दिउँसोदेखि मौसम सुधार आएसँगै खोलाको बहाव कम भएपछि मर्मत गरी राजमार्ग एकतर्फी खुलाइएको हो । मध्यपहाडीसँगै क्षत्विक्षत भएको दोबिल्ला–फलेबास सडकखण्ड भने सञ्चालनमा आएको छैन । उक्त सडकको करिब १ सय मिटर भागसम्म ठुल्ठूला ढुङ्गा रहेको र ती ढुङ्गा ब्रेकर लगाएर फुटाउनुपर्ने भएकाले अझै समय लाग्ने प्रहरीले जनाएको छ ।
खोलाले ल्याएका ठुल्ठूला ढुङ्गा हटाएर दोहोरो सवारी सञ्चालन हुने गरी सडक मर्मत गर्न समय लाग्ने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । “गाडी एकतर्फी भए पनि चलाइयो”, आयोजनाका सूचना अधिकारी उज्वल शर्माले भने, “बर्खामा व्यवस्थित हुने सम्भावना छैन । एक हप्ताभित्र दुईतर्फी सञ्चालन गर्न सकिएला ।”
सडक निर्माण कम्पनीको मुख्य इञ्जिनियरसहित गाडी बगाएकाले अहिले नै सडकको सहज रूपमा सञ्चालनबारे भन्न नसकिने उनकाे भनाइ छ ।