अन्तरजातीय विवाह गरेका कारण धम्की आएको दाबी गर्दै कैलालीबाट नव दम्पतीले सामाजिक सञ्जाल (ट्विटर)मा भिडियो पोस्ट गरेका छन् ।  ट्विटरमार्फत सार्वजनिक सो भिडियो कैलालीको जङ्गलबाट पोस्ट गरेको दाबी गरिएको छ ।

कैलालीको भजनी नगरपालिका–४ झलझलियाका प्रकाश विश्वकर्मा र मालती रावल  अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य भएका हुन् । प्रकाशको आफन्तले दिएको जानकारी गराउँदै अधिकारकर्मी जेबी विश्वकर्माले सो भिडियो आफ्नो ट्विटर ह्यान्डलबाट पोस्ट गरेका छन् ।

भिडियोमा प्रकाशले विवाह गरेपछि परिवारले नमानेको हुनाले जङ्गलमा आउनुपरेको बताएका छन् । मालतीले भनेकी छिन्–‘हामीलाई धम्की दिएका छन् ।’ रुकुम पश्चिममा भएको घटना दोहोरिने धम्कीपूर्ण म्यासेज आएको जानकारी गराउँदै उनीहरूले जीवन बचाउन अपिल गरेका छन् ।

अन्तरजातीय विवाहका कारण भएको झडपमा रुकुम पश्चिममा जाजरकोटका २१ वर्षीय नवराज विक सहित ६ जनाको ज्यान गएको थियो । दम्पतीले आफूहरूले प्रेम गरेर विवाह गरेको र मालतीको पेटमा बच्चा भएको उल्लेख गर्दै टाढा हुन नचाहेको बताएका छन् । घटनाबारे जानकारी नभएको कैलालीका एसपी विश्व अधिकारीले बताए ।

Leave a Reply