बागलुङ । बागलुङमा लैङ्गिक हिंसाका घटनामा पुरुषसमेत पीडित हुने गरेका छन् । पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएकामा क्रमशः पुरुष समेत हिंसामा परेको तथ्याङ्क सार्वजनिक भएको छ ।

बागलुङमा लैङ्गिक हिंसामा परेर प्रहरी चौकी, अस्पताल पुग्ने र पुनःस्थापना हुनेको तथ्याङ्क हेर्ने हो भने लैङ्गिक हिंसा पीडितमध्ये केही पुरुषसमेत रहेका छन् । लैङ्गिक हिंसामा पर्ने जातजाति समुदायमध्ये धेरै दलित समुदायबाट लैङ्गिक हिंसाका घटना भएको पाइएको छ । शैक्षिकस्तर कम हुनु, चेतनाको कमीलगायतका कारण दलित समुदायका महिला तथा पुरुषमा लैङ्गिक हिंसाका घटना बढी मात्रामा भएको देखिएको छ ।

लैङ्गिक हिंसा पीडितको परामर्श, उपचार तथा पुनःस्थापना गर्दै आएको धौलागिरि अस्पताल बागलुङमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले वर्षेनी लैङ्गिक हिंसाका घटना बढ्दै गएको र यसमा पनि दलित समुदायका बढी पीडित हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा आर्थिक वर्ष २०७५÷७६ सम्म लगातार बढ्दै आएको लैङ्गिक हिंसा पीडितका घटनामा २०७७/७८ मा केही घटेको पाइएको थियो ।

कोरोना भाइरसका कारण लैङ्गिक हिंसाका घटना अस्पताल र प्रहरीसम्म आउन नसकेको लैङ्गिक हिंसा पीडितको परामर्श, उपचार तथा पुनःस्थापना गर्दै आएको धौलागिरि अस्पताल बागलुङमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईले जानकारी दिनुभयो । “तथ्याङ्कका आधारमा आव २०७५÷७६ सालमा ११६ महिला तथा २० पुरुष गरी १३६ जनामा लैङ्गिक हिंसा भएको थियो, त्यसपछि २०७६÷७७ मा घटेर ८७ पुगेको थियो”, भट्टराईले भन्नुभयो, “आव २०७७÷७८ को असार २१ गतेसम्म ८६ लैङ्गिक हिंसाका घटना भएका छन्, कोरोनाका कारण केही लैङ्गिक हिंसाका घटना घरमै सीमित रहेको अनुमान छ ।”

पछिल्लो समय लैङ्गिक हिंसाका घटना महिला पुरुषले सहेर बस्ने अवस्था नरहेका कारण दिनानुदिन यी घटना बाहिर आइरहेको भए पनि कोरोनाका कारण तथ्याङ्कमा भने केही कमी आएको उहाँको भनाइ छ । हिंसा पीडितको तथ्याङ्कअनुसार अधिकांश १४ देखि ५९ वर्ष उमेर समूहका महिला र पुरुष हिंसामा पर्दै आएका छन् । लैङ्गिक हिंसामा परेकालाई उद्धार, परामर्श, औषधोपचारदेखि पुनःस्थापनासम्मको काम गर्दै आएको केन्द्रले निःशुल्क खान र बस्न र यातयातको सुविधासमेत प्रदान गर्दै आएको छ ।

विसं २०७७÷७८ मा बलात्कार १०, यौन हिंसा १९, मानसिक दबाब ३१, घरेलु हिंसा २३, हातपातका जम्मा तीन वटा घटना भएका थिए । यसमा पुरुष भने मानसिक दबाब, घरेलु हिंसा तथा हातपातमा पीडित भएका छन् । चालु आवमा पीडित भएका ८६ घटनामध्ये ७७ बागलुङका, चार पर्वतका र पाँच म्याग्दी जिल्लाका छन् । जातजातिअन्तर्गत सबैभन्दा बढी दलित ४४ जना, जनजाति २२ जना, ब्राह्मण क्षति २० जना पीडित भएको तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply