नेपालको चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन–३’ को भ्वाइस अफ नेपालको भोटिङ राउण्ड (टप १२) मा गोविन पुन पुग्न सफल भएका छन् ।

हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे प्रशारण हुने यो प्रतियोगितामा देशभरबाट करिब ४ हजार जनाले भाग लिएका थिए । ती मध्ये डिजिटल अडिसन, ब्लाइन्ड अडिसन,ब्याटल राउण्ड र नकआउट राउण्डमा छनोट हुंदै गोबिन सहित १२ जना भोटिङ राउण्डमा आइपुगेका हुन्।१२ जनामध्ये गोबिनसहित टिम दीपबाट आर्यन तामाङ र जेनिश राई छन् ।

दीप श्रेष्ठ कोभिड संक्रमित भएका कारण अहिले दीपको सट्टा राजेश पायल राई कोचको रुपमा छन् । टिम प्रमोदबाट किरण गजमेर,निहारिका ज्ञवली र रवि गहतराज,टिम राजुबाट विजय ठाडा,सोनाम शेर्पा र तारा श्रीस तथा टिम तृष्णाबाट ज्वाला राई,अफ्रिता खड्गी र कर्णराज गिरी छन् । अब यी १२ जनामध्ये दर्शक भोटका आधारमा प्रतियोगिताको विजेता बन्ने छन् ।

दर्शकबाट सबैभन्दा कम भोट पाउने प्रतियोगी हरेक हप्ता बाहिरिंदै जाने छन् र सबैभन्दा धेरै भोट पाउनेले उपाधि जित्ने छन् । अर्को हप्तादेखि भोटिङ शुरु हुने सम्भावना छ । २०५६ सालदेखि संगीत क्षेत्रमा लागेका गोबिनले यसअघि कुनै गायन र रियालिटी शो प्रतियोगितामा भाग लिएका थिएनन् । तर म्युजिक कम्पोजर र एरेन्जरको रुपमा संगीत क्षेत्रमै क्रियाशील भने थिए ।

आफ्ना साथीभाइको आग्रह अनुसार भ्वाइस अफ नेपालको सिजन ३ मा भाग लिएको गोबिनले बताए।‘यस अघि कुनै रियालिटी शो र गायन प्रतियोगितामा भाग लिएको थिइन’–गोबिनले भने–‘साथीहरुले एकचोटी प्रयास गर भन्नुभयो, अनि भाग लिएं ।’ यतिका वर्ष संगीतमा लागेपनि तेरो बाबाले के ग¥यो भनेर साथीभाई र आफन्तले आफ्नो छोरालाई सोध्दा छोराले के जवाफ देला भन्ने सोंचेर पनि आफूले यो प्रतियोगितामा भाग लिएको गोबिनले खुलाए ।

आफूलाई विजेता बन्ने भन्दा पनि संगीतप्रेमी दर्शक स्रोताको मन जित्नु ठूलो र महत्वपूर्ण उपलब्धी हुने उनको तर्क छ । ‘ट्रफी भन्दा दर्शक स्रोताको मन जित्न सकें भने त्यो नै मेरो लागि ठूलो उपलब्धी हुनेछ’–गोबिनले भने–‘अब दर्शकको भोट नै निर्णायक हुन्छ,दर्शक–स्रोताले न्याय गर्नुहुन्छ भन्ने विश्वास छ ।’

म्याग्दीको सिस्नेरी पुख्र्यौंली घर भएका गोबिनको परिवार पोल्ट्री फार्म चलाउन पोखरामा बस्छन् तर उनी भने संगीतप्रतिको लगाव र समर्पणका कारण पोखरा नगई बुटवलमै रहेर म्युजिक कम्पोज र एरेन्जरको काममा क्रियाशील रहेका थिए ।

त्यही क्रममा भ्वाइस अफ नेपाल सिजन ३ शुरु भएपछि चार महिनादेखि गोबिन परिवारसहित काठमाडौंमा छन् । गोबिनलाई नजिकबाट चिन्ने सैनामैना मुर्गियाका युवा खिम श्रेष्ठले गोबिन सानैदेखि गायन र संगीतमा समर्पित भएर लागेका तर बाहिर एक्सपोज नभएका प्रतिभा भएको र यसपटक भ्वाइस अफ नेपालको उपाधि जित्ने विश्वास व्यक्त गर्छन् ।

Leave a Reply