मनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि म्याग्दीको सदरमुकाम बेनीबजार तथा आसपासको क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ ।

बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तरगत बेनपा-८ जलेश्वर र रघुगंगा गाउँपालिका–३ पिप्ले आसपासबाट खसेको पहिरोले पाइपमा क्षती पुगेपछि बेनीबजारबासीले लगातार खानेपानीको अभाव भेल्दै आएका छन् ।

अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा रहेको पुम्दीखोलाको मुहानबाट ल्याइएको खानेपानीको पाइप सडकखण्डको मर्मत तथा पहिरोले फुटेपछि बेनीमा खानेपानी आपूर्ति बन्द भएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए ।

‘मर्मतमा जुटेका छौ,‘बाढीपहिरो र भत्किएको सडक मर्मतको क्रममा पाईपमा क्षती पुगेको छ’ अध्यक्ष रेग्मीले भने ।उनका अनुसार बैकल्पिक स्रोतहरूको समेत ब्यवस्थापन भइहरेको बताए । ‘शनिबार राती केहीबेर पानी खसेको थियो,‘यो समस्याको दिर्घकालिन समाधानका उपायहरू पनि खोजिरहेका छौ’ अध्यक्ष रेग्मीले भने ।

आइतबार बेलुकीसम्म खानेपानीको नियमित आपूर्ती हुन नसकेमा बजारबासीलाई बैकल्पिक माध्यमबाट समेत पानी उपलब्ध गराउने समितिले जनाएको छ। बेनीबजारमा नगरपालिकाको दमकल सहित अन्य सवारीसाधनको प्रयोग गरेर भएपनि खानेपानीको वितरण गर्न उपभोक्ताले माग समेत गरेका छन् ।

पुम्दीखोलाको मुहान र बेनी नगरपालिका–३, भकिम्लीको दुधेखोला बाहेक पनि अन्य बैकल्पिक स्रोतको खोजी भएपनि आपूर्तीमा समस्या भइहरेको संस्थाका उपाध्यक्ष रमेश गिरीले बताए । ‘दिनरात खटिएर मर्मतकार्य भइरहेको छ,‘मर्मतमा सबै शक्ती प्रयोग गरेका छौ’ उपाध्यक्ष गिरीले भने ।

नियमित रुपमा आइरहने पानीको पाइपमा क्षति पुगेर खानेपानी आपूर्ति नै बन्द भएपछि बजारबासीले बर्खामा मुल फुटेको विभिन्न ठाउँमा पुगेर खानेपानी ल्याउने गरेका छन् । धारामा खानेपानी नआउँदा बेनीमा कोठा भाडा लिएर बस्ने विद्यार्थी, कर्मचारी, शिक्षकलगायत सर्वसाधारणलाई सास्ती भएको छ ।

पानी नभएपछि खाना पकाउन, हातमुख धुन, शौचालय जान, नुहाउन र कपडा धुन समस्या भैरहेको बजारबासीको भनाई छ । बेनीमा पुम्दीखोलाबाट ६ इन्च र ५ इन्चको दुईवटा पाइप तथा दुधेखोलाको मुहानबाट २ इन्चको पाइमा पानी ल्याइएको छ ।पुम्दीखोलाबाट ल्याइएको ६ इन्चको पाइमा प्रतिसेकेण्ड २० लिटर र ५ इन्चको पाइपमा प्रतिसेकेण्ड १० लिटर तथा दुधेखोलाको २ इन्चको पाइपमा प्रतिसेकेण्ड ३ लिटर पानी आउने गर्दछ ।

बेनीमा १ हजार ३३ घरधुरीमध्ये बेनी खानेपानी उपभोक्ता संस्थाले १ हजार २० उपभोक्ता अर्थात् झण्डै २० हजार जनसङ्ख्यालाई खानेपानी उपलब्ध गराउँदै आएको छ । बेनी नगरपालिका–७ र ८ नम्बर वडा तथा ज्यामरुककोटको हाँडेभिर क्षेत्रमा संस्थाले पानी वितरण गरेको छ ।

Leave a Reply