बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, संगीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ ।

अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ । सात फिट गोलाइ रहेको नगरालाई मोड्न एक हजार ४ सय फिट छालाको तुना लागेको उनको भनाइ छ । स्थानीय कालीगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए । नगरालाई चाहिने भैँसीको छाला भारतको बिहारबाट ल्याइएको अध्यक्ष आश्रमले बताए । यहाँ पाइने भैँसीको छाला सानो भएकाले भारतबाट झिकाइएको हो ।

नगरा निर्माणका क्रममा कालीगढ रवीलाल, जरसिंह विकले तामा र लालबहादुर किसान, जगबहादुर र सरबहादुर विकले छालाको काम गरेका थिए । नगरा बनाउँदा कालीगढ र सहयोगीसमेत गरी ५० जना खटिएका थिए । परम्परागत आरान प्रविधिबाट नगरा निर्माण गरिएको कालीगढ रवीलालले बताए । यति ठूलो नगरा बनाउन पाउँदा खुसीको अनुभव भएको उनले सुनाए ।

कालीगढको मेहनत र शिल्पले विशाल नगरा बनाउन सम्भव भएको अध्यक्ष आश्रमले बताए । उनका अनुसार अर्को ठूलो नगरा काठमाडौंको हनुमानढोका परिसरमा छ । मल्लकालमा बनेको उक्त नगराको गोलाइ साँढे छ फिट छ । अक्षयकोषद्वारा निर्मित नगरा सात फिट गोलाइको भएकाले ‘देशकै ठूलो’ भनेर दाबी गरिएको हो । नगराको उचाइ भने छ फिटभन्दा केही बढी छ ।

“नगराले सांस्कृतिक र पर्यटकीय आकर्षण थप्ने हाम्रो विश्वास छ”, अध्यक्ष आश्रमले भने,“यसले नेपाली मौलिक लोकवाद्यप्रतिको सम्मान पनि झल्काउँछ ।” दसैँ, चैते दसैँ, सरस्वती पूजा आदि पर्व र विशेष दिनमा उक्त नगरालाई बजाइने भएको छ । लोकबाजा सङ्ग्रहालय निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट चालु आवमा प्राप्त रु १० लाख बजेटमध्येबाट रु पाँच लाख नगरामा खर्च भएको छ । बाँकी पाँच लाख सङ्ग्रहालय भवन बनाउन खर्च गरिएको अक्षयकोषले जनाएको छ ।

संरचना निर्माणसँगै लोकबाजा सङ्कलन र सङ्ग्रहका लागि आउँदो आवका लागि पनि प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको छ । विसं २०६६ मा स्थापित अक्षयकोषले नेपालसहित विश्वभरका लोकबाजाको सङ्ग्रह गर्ने योजना बनाएको छ । हालसम्म नेपाली र पश्चिमेली गरी २५ प्रकारका लोकबाजा सङ्ग्रह गरिसकिएको छ ।

सङ्ग्रहालय निर्माणका लागि अक्षयकोषले तङ्ग्राममै तीन रोपनी जग्गा व्यवस्थापन गरेको थियो । अक्षयकोषले बर्सेनि गाउँस्तरमा ‘ट्यालेन्ट अफ भिलेज’ नामको कार्यक्रमसमेत गर्दै आएको छ । गीत, नृत्य र साहित्यतर्फ प्रतिभाको खोजी गरिने उक्त प्रतियोगितात्मक कार्यक्रमले दशौँ संस्करण पार गरिसकेको छ । अक्षयकोषलाई थप संस्थागत र व्यवस्थित बनाएर समुदायलाई हस्तान्तरण गरिने अध्यक्ष आश्रमले बताए । अक्षयकोषको चल/अचल गरी रु २० लाखबराबरको सम्पत्ति छ ।

Leave a Reply