कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी यस बर्ष साउनको पहिलो सोमबार म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिर दर्शनार्थीका लागि नखुल्ने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बिहिबार बसेको बैठकले थप खुकुलो बनाएर अनिश्चितकालिका लागि लम्ब्याइएको अवस्थामा धार्मिक मठमन्दिरमा नियमित पूजाआजा बाहेक भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ ।

लकडाउन खुकुलो भएसँगै बिस्तारै अन्य क्षेत्रहरु सामान्य अवस्थामा फर्किँदै गरेको अवस्थामा विभिन्न जिल्लाबाट आउने भक्तजनहरुबाट कोरोना संक्रमणको जोखिम कायमै रहेकाले भिडभाड बढी हुने मठमन्दिर लगायतका क्षेत्र भने तत्काल खोल्ने अवस्था नभएको प्रशासनले जनाएको छ । बाँकी सोमबार अनुकल समय हेरेर खोल्न समेत सकिने जनाइएको छ ।

साउनको सोमबार गलेश्वर मन्दिरमा लाखभन्दा बढी भक्तजनहरू आउने गर्दछन् ।
गलेश्वर सहित जिल्लाभित्र चहलपहल हुने मन्दिरमा दर्शनार्थीलाई पूणतः रोक लगाउन भने सकिने अवस्था नभएपनि मुल गेट भने बन्द गरिने गरिएको छ। हाल मन्दिरमा नित्य पुजा मात्र भइरहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए ।

हरेक बर्ष साउनको प्रत्येक सोमबार भिडभाड हुने गरेपनि मन्दिर भक्तजनलाई खुल्ला गर्ने विषयमा निर्णय नभएको उनले बताए । विगतमा कोरानको जोखिमको अवधिमा भक्तजनले बाहिरैबाट दर्शन गरेर फर्किने गरेका थिए । भगवान् शिवको प्रिय महिना साउन र सोमबारका दिनहरुमा गलेश्वर शिवालयमा पुजाआजा गर्न भक्तजनहरुको घुइँचो लागेको थियो ।

साउन महिनाको प्रत्येक सोमबार विशेषगरी विवाहित महिलाहरु श्रीमानको दिर्घायु र अविवाहितहरु आफ्नो मनोकामना पुरा होस् भनी चोखो निष्ठा गरी ब्रत बस्ने र शिव मन्दिरमा गई पुजा गर्ने गर्दछन् ।अहिले पनि मन्दिर परिसरबाट दर्शन गरेर आउने जाने गर्छन् ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् । हिन्दू धर्मगन्थ्रमा गलेश्वरमा सतिदेवीको गला पतन भएको गलेश्वरमा ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानव निर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

तातोपानी कुण्ड पनि बन्द
महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको त्रासका कारण बन्द भएको बेनी नगरपालिका–४,मा अवस्थित तातोपानी कुण्ड समेत अनिश्चितकालका लागि बन्द छ । प्राकृतिक उपचारस्थल मानिएको कुण्ड समेत तत्काल सञ्चालनमा आउने सम्भावना छैन् ।

कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुचीनहुने लगायतका स्वास्थ्य समस्या भएका बिरामी आउने गरेपनि कोरोना संक्रमणको जोखिमले बन्द गरिएको छ ।  कोरोनाका कारण धवलागिरी गाउँपालिकाको गुर्जा र मुदीमा रहेका २ वटा तातोपानी कुण्ड, रघुगंगा गाउँपालिकाको दर्मिजामा रहेको तातोपानी कुण्ड र अन्नपूर्ण गाउँपालिकामा रहेका ३ वटा तातोपानी कुण्ड छन् । अन्य कुण्डमा स्थानीयले प्रयोग गर्ने गरेपनि धेरै चाप हुने सिंगा तातोपानी कुण्ड भने सञ्चालनमा रोक लगाइएको छ ।

 

Leave a Reply