रघुगंगा गाउँपालिका-५ झिं का कृष्ण थजाली मगर दिनरात विद्युतको काममा खटिनुहुन्थ्यो । झिँ, पाखापानी क्षेत्रमा सामुदायिक विद्युतीकणसँगै केन्द्रिय प्रशारण लाइनबाट विद्युतीकरणमा थजालीले कहिल्यै घामपानी भन्नुभएन् । स्थानीयमा उज्यालो छर्न सक्रिय थजाली जनताको घरदैलोमै पुगेर समेत सेवा दिने र लाइन बढी गयो भन्ने चिन्ता लिनुहुन्थ्यो ।

जनताको घरमा निर्वाध उज्यालो पु¥याउन खटिने थजाली विद्युतमै काम गर्दा धेरैपटक सामान्य घाईते समेत हुनुभयो । नेपाल विद्युत प्राधिकरणको स्थानीय कर्मचारीको रुपमा खटिएपनि थजालीले जागिरे मानसिकताभन्दा धेरै माथि उठेर जनताको सेवामा सक्रिय हुने भएकाले पनि स्थानीयले विद्युतमा खरावी आउँदा वित्तिकै फोन गरिहाल्थे ।

विद्युतको पोलमा खरावी आए पोलको टुप्पोमै पुगेर समेत मर्मत गर्ने थजालीले जनताको घरदैलोमा उज्यालो छर्दाछदैं बिहिबार कहिल्यै जनताको सेवामा नफर्किने गरी संसार छोड्नुभएको छ । रघुगंगा गापा, ६ स्थित विधुतको मुख्य लाईनको ट्रान्सफर्मरमा समस्या आएपछि मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते हुनुभएको थियो ।

घाईते अवस्थामा उद्धार गरीे झिं स्थित स्वास्थ्य चौकीमा उपचारक्रममा मृत्यु भएको नेपाल विधुत प्राधिकरण बेनी केन्द्रले जनाएको छ । थजालीलाई करेन्ट लागेर घाईते भएपछि हेलिकोप्टरबाट पोखरा लैजाने तयारी समेत गरिएको छ ।

गाउँमा विद्युतीकरण सहित सामाजिक कार्यमा सक्रिय रहेका थजालीको मृत्युको खवरले समुदाय नै स्तब्ध भएको स्थानीयको भनाई छ । यता विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले मेहनती र निरन्तर सेवामा खटिने थजालीको मृत्युले दुखी भएको जनाएको छ । थजाली नेकपा एमाले झिँ वडा कमिटीका अध्यक्ष समेत हुनुहुन्थ्यो ।

Leave a Reply