करिब डेढ दशक देखि कतारलाई कर्मथलो बनाएका म्याग्दी रघुगंगा गाउँपालिका-२, भगवतीका तिलु शर्मा पौडेल कतारमा सम्मानित भएका छन् । कतारमा रहेर पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गदैं गैर आवासीय नेपाली संघ कतारको नवौँ राष्ट्रिय महाधिवेशनबाट पौडेललाई पत्रकारिता पुरुस्कारद्घारा सम्मान गरेको हो ।

संघको कार्यकाल २०१७–२०१९ मा स्थापित साहित्य, पत्रकारिता र खेलकुद पुरस्कार अन्तर्गत पौडेल ‘पत्रकारिता पुरस्कार’ बाट १५ हजार १ रुपैयाँ नगद सहित सम्मानित भएका छन् । उनलाई प्रवासमा रहेर नेपाली समुदायलाई विभिन्न क्षेत्रका सूचना तथा जानकारीहरू प्रदान गर्दै समाज सेवाको अभियानमा पत्रकारितामार्फत अमूल्य योगदान पुराएकोमा सम्मान गरिएको गैर आवासीय संघ कतारले जनाएको छ ।

कोरोनाको महामारीका बेला कतारबाट भएका करिब ५० वटा चार्टर उडानमा पौडेलले ४४ वटा उडानका समयमा एयरपोर्ट पुगेर प्रत्यक्ष रिपोर्टिङ गरेका थिए। उनले एयरपोर्टबाट पीडितका आवाज जस्ताको तस्तै आम पाठक सामु पुराएका थिए । मोना कतारका पूर्व अध्यक्ष तथा कतारमा रहेका विभिन्न नेपाली संघसंस्थामा रहेका पौडेलले बेनीअनलाइन, बेनी साप्ताहिकमा समेत आवद्ध छन् ।

सन २०१४ बाट पत्रकारीताको शुभारम्भ गरेका पौडेलले सामाजिक एवम् मानवीय सेवामा सक्रिय छन् । सामाजिक रूपमा विभिन्न संघ संस्थामा आवद्घ रहेका पौडेल कतारमा निडर र निष्पक्ष पत्रकारिता गर्ने पत्रकारका रूपमा परिचित छन् । पुरस्कृत पत्रकार पौडेलले सम्मान र पुरस्कारले जिम्मेबारी थपिएको बताए । उनले आफ्नो पत्रकारिताबाट नेपाली समुदायको हकहित सहित रचनात्मक कार्यहरुमा सक्रिय हुने बताए ।

विज्ञापन