प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघ म्याग्दीले शनिबार बृक्षारोपण गरेको छ । बाढीपहिरोको जोखिम रहेको बेनी नगरपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने आपाँरुख र बराहपाखो सामुदायिक बन अन्तरगत घोर्लास र महारानी थान आसपासमा विभिन्न प्रजातिका ५ सय बिरुवा लगाइएको छ ।

यूवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज सन्तोष रावलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वातावरण संरक्षण सहितका प्रकृतिमैत्री गतिविधिमा यूवा संघले निरन्तर सक्रियता देखाउने बताइएको थियो ।
प्रमुख अतिथि रावलले यूवा संघले राजनीतिक बेतिथी बिरुद्धको संघर्षसँग समुदायमा आवश्यक विभिन्न क्षेत्रमा समेत सहयोग गर्ने बताए ।

उनले यूवासंघमार्फत समुदायको समस्या समाधानमा नेतृत्वदायी पहल गर्ने र हाल देखिएको राजनीतिक अराजकता बिरुद्ध समेत भण्डाफोर गर्ने बताए । कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, यूवा संघ नेपालका साविक धौलागिरी अञ्चलका पूर्व अध्यक्ष नारायण जिसी, बेनपा ६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँ, यूवा संघ नगर कमिटीका लक्ष्मण कटुवाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता संघका उपाध्यक्ष विजय घर्ती मगर र सञ्चालन सचिव शिशिर शाहीले गरेका थिए ।

Leave a Reply