Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

कस्ले देख्छ हिमालपारीका यि अनेकन दुःख ?

हिमालपारीको जिल्ला मुस्ताङमा खोप ढुवानीमा समस्या हुने गरेको छ । वर्षायामसंगै बढेका नदीखहरेका कारण साना सवारी आवतजावत नै रोकिएपछि ट्याक्टरमा खोप ढुवानी गर्नुपरेको हो ।
गत असार २९ गते मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्याक्टरमा खोप ढुवानी गरेर जेष्ठ नागरिकका लागि दोस्रो मात्रा खोप लगाएको छ । भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सदरमुकाम जोमसोमबाट लोमान्थाङ ढुवानी गर्न पाण्डाखोलाले असजिलो पारेको थियो । लोमान्थाङबाट जोमसोममा लागि पठाईएको एम्बुलेन्स कागबेनी नजिकै रहेको माण्डा खोलामा रोकिएपछि ट्याक्टरमा ढुवानी गरिएको लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए ।
‘यहाँबाट गएको एम्बुलेन्स तर्न सकेन’ भण्डारीले भने ‘दुई दिन रोकिएर ट्याक्टरमा खोला तारेपछि एम्बुलेन्समा लोमान्थाङ ल्याईयो ।’ कोरोना भाईरसबिरुद्धको खोप लिएर लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नोर्बु गुरुङ आँफै ट्याक्टरमा गएका थिए ।
‘माथिल्लो मुस्ताङमा समस्या छैन्, कागबेनी आसपास हुँदै बग्ने खोलानालाले दुख दिईरहेका छन्’ भण्डारीले भने ‘अनेक बिकल्प गरी गाउँमा खोप पु¥याएका छौं ।’ खोलामा पुल नरहेको र बर्षा भैरहेकाले बाढी आउँदा साना सवारी आवतजावतमा समस्या भएको हो ।
यसअघि पनि मुस्ताङमा खोला बढेका कारण खोप तार्न कठिन भएपछि दाउराको सहायताले स्वास्थ्यकर्मीले खोप वारपार बनाएको तस्विर भाईरल भएको थियो । स्वास्थ्य निदेर्शनालय पोखराले मुस्ताङका स्वास्थ्यकर्मीले ट्याक्टरमा खोप ढुवानी गरेको विषयलाई आफ्नो सामाजिक सञ्जालमा साझा गरेको छ । देशभर खोप अभियान चलिरहेका बेला ढुवानीको समस्याका कारण मुस्ताङमा तोकिएको दिनभन्दा एक दुईदिन तलमाथि पारेर खोप अभियान सञ्चालन हुने गरेको छ ।

Exit mobile version