हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक फेरि बन्द भएको छ । अविरल वर्षाका कारण सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर फेरि बन्द भएको हो ।

यसअघि पहिरोले बन्द भएको बेनी–सोमसोम सडक १३ दिनपछि गएको मङ्गलवारदेखि सञ्चालनमा आए पनि बिहीबार बिहानैदेखि फेरि बन्द भएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट, अन्नपूर्ण ३ रुप्से छहरा र जलथलेमा रहेको सडकभन्दा माथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खसेर सडक फेरि बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बन्द सडक खुलाउन प्रहरीले सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिरहेको प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रराज गुरुङले बताउनुभयो । ७६ किलोमिटरको बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण बन्द भएपछि गाडी बीच सडकमै रोकिएका छन् ।  

यस्तै पश्चिम म्याग्दी हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि फेर बन्द भएको छ । सडक माथिबाट खसेको पहिरोले बिहीवार बिहानैदेखि बेनी–दरबाङ सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply