माछापुच्छे« गाउँपालिका ८ का राजन विक बलात्कारको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान विक १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । आफूविरुद्ध उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा हाजिर भएका विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
असार ३० गते किशोरीले राजनविरुद्ध उजुरी दिएकी थिइन् । जेठ १८ गते पोखरा १ बगरस्थित केआइसिंह पुलबाट आत्महत्या गर्न लागेकी किशोरीलाई प्रहरीले उद्धार गर्दै कोपिला नेपालको जिम्मा लगाएको थियो । उक्त संस्थाकै सहयोगमा किशोरीले विकविरुद्ध उजूरी दर्ता गराएकी थिइन् । विकलाई नियन्त्रणमा लिई १० दिनको म्याद थप गरी अनुसन्धान भइराखेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।
दवावमा कागजी सहमति
विक र किशोरीबीच सामाजिक संजालमार्फत् चिनजान भयो र चिनजान प्रेम सम्बन्धमा पुग्यो । विकले किशोरीको घरमै पुगेर परिवारसँग उनको हात मागे । पीडित किशोरीका परिवारजनका अनुसार उनीहरुको टीकाटालो नै गरियो । उनीहरुबीच शारीरिक सम्बन्ध हुँदै आएको थियो । कानूनले भने १८ वर्ष मुनि सहमतिमै शारीरिक सम्पर्क भएपनि अपराध मान्छ ।
टीकाटालो गरेपछि किशोरीलाई सँगै लगेका विकले ४–५ दिन नबित्दै बाटुलेचौरमा नै ल्याएर छाडे ।कामको कारण आफू आउँजाउँ गर्न नपाउने बताउँदै किशोरीलाई दाजुकहाँ छाडेका उनी दाजु नभएको बेला बाटुलेचौर पुग्थे । बारम्बारको यौन सम्पर्कपछि किशोरी गर्भवती भइन् । २ पटकसम्म गर्भपतन गराइन् । बारम्बार गर्भपतनको लागि बाध्य पारेका विकले त्यहीबीच किशोरीमाथि कुटपीट गर्न थाले । किशोरी डिप्रेसनमा गइन् । उनले आत्महत्याको जमर्को गरिन् । सम्बन्ध बिग्रिएसँगै राजनले कानूनी कारबाहीबाट बच्नको लागि कागजी सहमति गर्ने बाटो रोजे । गएको मंसिर २८ गते किशोरी र बिक दुबैले घरेलु सहमतिपत्रमा औंठा छाप लगाउँदै एक–अर्कामाथि कुनै किसिमको आरोप प्रत्यारोप नलगाउने र आ–आफ्नो बाटो लाग्ने सहमति गरे ।
उनीहरुबीच ५ बुदे सर्तनामा कागज भएको थियो । जुन सर्तको बुँदा ३ मा लेखिएको छ ‘म राजन बिक, म कोपिलाबीच (नाम परिवर्तन) सर्तनामाको कागज गराउनुपूर्व म कोपिला (नाम परिवर्तन) अन्य पुरुषसँग हिंडेको र बसेको राजन विकले प्रत्यक्ष देखेको कारण आगामी राजन विकसँग बस्ने आधार नभएको हुँदा निज राजन विकको विरुद्ध आगामी दिनहरुमा कुनैपनि उजुर बाजुर गर्ने छैन साथै निज राजन विकको सम्पत्तिमाथि म कोपिलाले कहिल्यै दावी गर्ने छैन भनि यो सर्तनामाको कागज लेखि दिएको ठिक हो ।’ भनिएको छ ।
यस्तै बुदा ४ मा किशोरीले अन्य पुरुषसँग अश्लील भिडियो बनाएको कुरा उल्लेख गरिएको छ । उक्त बँुदामा भनिएको छ,‘म कोपिला (नाम परिवर्तन) पर पुरुषसँग बसेको अवस्थामा भिडियो बनाएको (अश्लिल प्रकारको) र उक्त भिडियो राजन विकले रंगेहात फेला परेको कारण आफुले आगामी दिनमा निज राजन विक विरुद्ध उजुरी दिने छैन भनि यो सर्तनामाको कागज गरेको ठिक हो ।’ भनिएको छ ।
तर, दुबैबीच त्यसपछि पनि बोलचाल हुँदै आएको थियो । बिकले फोनमा किशोरीलाई गएर मर, जा मरसमेत भनेका थिए । त्यही बीचमा राजनले किशोरीलाई कोठाबाट पुनः घर लगे । वैशाख २६ गते घर लगेका राजनले भोलिपल्ट नै पोखरा फर्काएका थिए । किशोरीको महिनावारी रोकियो । राजनले दवाव दिएका थिए । गर्भपतन नगरे आफूलाई अफ्ठेरो पर्ने र सो कुरा पीडितका घरपरिवार वा मावलीमा जानकारी दिए सबैलाई जेल हाल्ने धम्की पनि दिन भ्याए । सबन्ध बिग्रिएसँगै दिएपछि किशोरीले विवाह दर्ता र सम्बन्धबारे सबैलाई जानकारी दिनुपर्ने अडान लिइन् ।
आफू प्रहरी भएको माथिल्ला हाकिमहरुसँग पहिचान भएकाले सबैलाइ वर्वाद पारिदिने धम्की दिन थाले । धम्कीबाट डराएकी किशोरीले जेठ १८ गते कसैलाई दुःख नदिने सोच राख्दै केआइसिंह पुलबाट हामफाल्ने दुश्साहस गरिन् । धन्न उनी जालीमा अड्किइन् । वडा प्रहरी कार्यालय बगरले उनको उद्धार गर्दै कोपिला नेपाल नामक संस्थामा परामर्शका लागि पठाएको जाहेरीमा उल्लेख गरेकी छन् ।
किशोरी डिप्रेसनमा : कोपिला नेपाल
किशोरीलाई मनोपरामर्श दिइरहेको कोपिला नेपाल नामक संस्थाले उनको अवस्थामा सुधार आउन बाँकी रहेको बताएको छ । कोपिला नेपालकी प्रतिनिधि क्षमता खड्काले पीडितले मानशिक रोगसम्बन्धी औषधि सेवन गरिरहेको बताइन् ।

Leave a Reply